रामेछाप । वर्तमान अवस्थामा राज्यको संस्थागत सुधार र समाज रुपान्तरणका लागि संचारमाध्यमको भूमिका अहम रहेको कुरामा मन्थलीको एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् ।
प्रेस सेन्टर नेपाल बागमति प्रदेशको आयोजनामा आईतबार मन्थलीमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागिले प्रेसको भूमिकालेनै समाजले आफ्नो धारणा बनाउने र त्यसले राज्य संचालन, संविधानको रक्षा र कार्यान्वयन लगाएतका विषयमा अहम भूमिका खेलिरहेको वताएका हुन् ।
प्रेस सेन्टर नेपाल बागमति प्रदेशका अध्यक्ष ध्रुवहरी अधिकारीको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको जिल्ला समन्वय समिति रामेछापका उप प्रमुख प्रेमसागर थापाले गरेका थिए । कार्यक्रममा बोल्दै थापाले पत्रकारहरुले पेशागत सुद्धता कायम गर्दै आम नागरिकलाई स्वच्छ सूचना प्रवाह गर्नसक्नुपर्ने वताए । उनले पत्रकारीता पेशामा चुनौतिका साथै कतिपय कुराहरु सुधारको खाँचो समेत रहेको औल्याए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबराज पथिक, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपककुमार घिमिरे, नेपाल जनजाति पत्रकार महासंघ बागमति प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ र संचार संग सम्बन्धित विभिन्न संघ संठगनका प्रमुख र प्रतिनिधिहरुले वर्तमान अवस्थामा संचार क्षेत्रले खेल्नुपर्ने भूमिकाका बारेमा आ आफ्ना धारणा राखेका थिए ।
