रामेछाप । मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा अन्तिम चरणमा पुगेको बेला बुधबार सार्वजनिक सुनुवाई भएको छ ।

नगरपालिकाले आर्थिक बर्ष २०७९।८० देखि नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि विभिन्न कृयाकलाप गर्दै आएको थियो । बुधबार गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त अभियान अन्तरगत वडा स्तरमा गरिएका प्रयासहरु र त्यसमा लागेको खर्चको विवरण सार्वजनिक गरिएको थियो । कार्यक्रम जिल्ला समन्वय प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यमा भएको थियो ।

नगर प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि कतिपय सूचकहरु प्रति सहभागिहरुले जिज्ञासा राखेका थिए । सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाहरुको नगर प्रमुख लब श्रेष्ठ, वडा अध्यक्षहरु र सरोकारवाला पक्षका प्रतिनिधिले जवाफ दिएका थिए । नगरपालिकाले यसै आर्थिक बर्ष भित्र बालमैत्री शासनयुक्त नगर घोषणा गर्नेछ ।