रामेछाप । रामेछापको मन्थली नगरपालिका ९ पुरानागाउँको स्थानापति माविमा जनप्रतिनिधिले लगाएको ताला विद्यार्थीहरुले फुटाएपछि मंगलबार पठनपाठन शुरु गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ढिलाई भएको भन्दै वडाबाट निर्वाचित भई जिल्ला समन्वय समिति सदस्य भएकी हिराकुमारी गिरी र धनलाल तामाङ सहितले सोमबार करिव साँढे २ बजे विद्यालयका कक्षा कोठामा अध्ययन गरीरहेका सवै विद्यार्थीलाई बलजफ्ति निकालेर मुल ढोकामा ताला लगाईदिएका थिए ।

जनप्रतिनिधिले ढाकामा तालावन्दी गरेपछि विद्यालयको अध्ययन अध्यापन कार्य बन्द भएकोले निजहरुलाई कारवाहिको साथै विद्यालय खोलेर संचालनको वातावरण वनाउन प्रअ शम्भुकुमार मण्डलले सोमबारनै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले विद्यालयमा जुनसुकै वाहानामा भएपनि तालावन्दी गर्न नहुने भन्दै ताला खोलेर पठनपाठन संचालन गर्न विद्यालय प्रशासनलाई निर्देशन दिएका थिए । उक्त निर्देशन पछि मंगलबार अध्ययनका लागि किताव कापी वोकेर विद्यालय पुगेका विद्यार्थी र केहि अविभावकहरुले मंंगलबार विहान साँढे १० बजे मुल ढोकामा सोमबार लगाइएको ताला फुटाएका थिए । ताला फुटाएपछि विद्यालयमा पठन पाठन संचालन भएको हाे । उक्त विद्यालयमा झण्डै १ सय ३० विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा तालावन्दी गर्ने पक्षले ताला खोल्ने प्रयत्न गरेमा भिडन्त हुन सक्ने चेतावनी दिएका भएपनि विद्यार्थी र अविभावकले ताला फुटाउने वेलामा उक्त विद्यालयमा उपस्थिति थिएन ।

यसैविच ताला लगाउने जिल्ला समन्वय समिति रामेछापकी सदस्य गिरी र वडा सदस्य तामाङलाई छलफलका लागि प्रजिअ थापाले जिल्ला प्रशासनमा झिकाएकाे र विद्यालयका प्रअ मण्डललाई वडा कार्यालयमा झिकाईएको जनाइएको छ ।