टीकाप्रसाद भट्ट
रामेछाप – निर्माण कार्यको अन्तिम चरणमा पुगेको रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोशी नदी माथिको ठेडिखोला पुल शुक्रबार अपरान्ह भाँचिएको छ ।

५४ मिटर लामो अन्तिम स्पानको ढलान सकिएको केहि दिनमा उक्त पुल भाँचिएको हो । भाँचिएको भाग पनि त्यहि अन्तिम स्पान नै हो । शुक्रबार अपरान्ह पुल भाँचिएपछि सर्वसाधारण धेरैले पुलको भाँचिएको फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् र त्यसमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।

संघीय सरकारको सडक विभागको पुल महाशाखाले उक्त पुल निर्माण गरेको हो । २ सय ३० मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण अन्तिम चरणमा थियो । २०८२ असार मसान्त सम्म पुलबाट सवारी आवागमन खुलाईने तयारी निर्माण कम्पनीले गरेको थियो ।

पुल निर्माणका लागि २०७८ सालमा ठेक्का लागेको हो । उक्त पुल कालिका–कल्पवृक्ष जेभिले बनाउदै थियो । कुल ४ स्पान भएको उक्त पुल निर्माणका लागि भ्याट र पिएस बाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का संझौता भएको थियो ।

पुल भाँचिनुको कारण खुलेको छैन् । निर्माण व्यवसायीले तत्कालै साईटमा विज्ञ टोली ल्याएर पुल क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने तयारी गरेको छ ।