रामेछाप । आगोले घर खरानी पारेपछि छाना विहिन भएका लिखु तामाकोशी गाउँपालिका २ सैपुका गोविन्द सुनुवार र उनका परिवारले अव चाडै नयाँ घरमा सर्न पाउने भएका छन् ।
वडा नम्बर २ का वडाअध्यक्ष संतोष पौडेलको अगुवाईमा सुनुवार परिवारका लागि नयाँ चिटिक्क परेको घर निर्माण हुदैछ ।

‘अव केहि दिन काम गरेपछि हामी सुनुवारको परिवारलाई ओतिने स्थानमा सार्न सक्ने अवस्थामा पुगेका छौं’ वडाअध्यक्ष पौडेल भन्छन् – आज जस्ता आउदैछ, २ दिनमा गाह्रोको काम सकिन्छ होला । बर्षा लागेकोले चाडै घर छाएर सुनुवारको परिवारलाई राख्ने योजना अनुसार तिव्र रुपमा काम भइरहेको उनले वताए ।

चैत २२ गते घरमा बालेको आगो उम्कीएर सुनुवारको एक तले घर स्वाहा भएको थियो । २ बालबालिका लिएर बल्लतल्त सुनुवार दम्पतिले ज्यान जोगाएका थिए । घरमा भएका केहि सामान झिक्न नपाएपछि सुनुवारको परिवारलाई छिमेकीको आश्रयमा राखिएको छ ।

कमजोर आर्थिक अवस्था भएका र बालबालिका समेत सानै भएको उक्त परिवारको घर र घरमा भएका सामान आगलागी बाट जलेपछि वडा अध्यक्ष पौडेलले सुनुवारलाई घर बनाइदिने अभियान थालेका थिए । उनको अगुवाईमा करिव ५ लाख रुपैयाँ जुटेको छ । सुनुवारका दाजुभाई, ईष्टमित्र, श्रृजनसिल समाज र सह्रृदयि चन्दादाताबाट उक्त सहयोग जुटेको हो ।

पौडेलका अनुसार भूकम्प प्रतिरोधि २ कोठे घर र सौचालय निर्माणका लागि ७ जनाको समितिनै बनाइएको छ । त्यसको संरक्षक पौडेल आफै छन् । ४१ बर्षे सुनुवारलाई घर भित्र लैजाने काममा लाग्ने खर्च सोहि समितिले गर्दै आएको छ ।