रामेछाप । राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसको अवसरमा रामेछापको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्तकुमार बुढाथोकी उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत भएका छन् ।

बुढाथोकीलाई सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ‘उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८२ ’ बाट सम्मानित गरेका हुन् । बुढाथोकी मन्थली नगरपालिकाको १० औं तहको प्राविधिक उप सचिवको रुपमा कार्यरत छन् ।

आयोगले बुढाथोकी सहित देशभरका सार्वजनिक सेवा प्रदायक निकायमा कार्यरत ५ जना सूचना अधिकारीहरुलाई नगद ३० हजार सहित सम्मान गरेको हो । त्यसैगरी सूचनाको क्षेत्रमा काम गर्ने अन्य ५ जना अभियान्ताहरुलाई पनि नगद सहित सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट अभियान्ताका रुपमा बरिष्ट पत्रकार तारानाथ दाहाललाई सम्मानित गरिएको छ । दाहाल ५५ हजार ५ सय नगद पुरस्कार सहित सम्मानित भएका हुन् ।