रामेछाप । रामेछापका प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टले जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाउन कुनै कसर बाँकी नराख्ने वताएका छन् । केहि दिन अघि मात्र जिल्लामा हाजिर भएका उनले आईतबार पत्रकारहरु सँग उक्त दावि गरेका हुन् ।

भट्टले जिल्लामा हुने अपराधजन्य घटनामा सम्लग्न जो कोहि पनि प्रहरी बाट उम्कन नसक्ने ठोकुवा गरे । चोरीका घटना नियन्त्रण, लागू औषधको बढ्दो प्रयोगलाई निरुत्साहित गर्न प्रहरी सक्रियता बढाउनुका साथै सामाजिक अभिमुखिकरण लगाएतका कार्य गर्ने वताए ।

उनले जलविद्युत आयोजनाले नदी र खोलाको पानी सुकाएर वातावरणमा पु¥याएको हानी नोक्सानी र सामाजिक उत्तरदायित्व पुरा नगरेको सूचना प्राप्त भन्दै त्यस क्षेत्रमा सकेको सुधार गर्न प्रयत्न गर्ने वताए ।

रामेछाप आउने मालबाहक सवारी साधन तार्दा खुर्कोटको पुलमा मोलमोलाई हुने गरेको गुनासो प्रति आफ्नो ध्यानाकर्षण भएको उनले वताए । भट्टले प्रहरी संग जोडिएका गुनासोहरुलाई तत्काल सुनुवाईका लागि प्रहरी तयार रहेको भन्दै त्यस कार्यमा सघाउन संचारकर्मीहरुलाई आग्रह गरेका थिए ।

यसैविच आईतबारनै रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कार्यभार सम्हालेका छन् । थापा तनहुँ जिल्लाबाट सरुवा भएर आएका हुन् ।