रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाले मंगलबार प्रकाशित गरेको कक्षा ८ को पालिका स्तरिय बार्षिक परिक्षाको नतिजा निराशाजनक देखिएको छ ।

सामुदायिक विद्यालयका शिक्षकहरु पेशागत विभिन्न माग राखेर काठमाडौंको सडकमा आन्दोलन गरिरहेका बेला गाउँपालिकाबाट प्रकाशित भएको कक्षा ८ को बार्षिक परिक्षाको नतिजालाई लिएर केहि अविभावकहरुले सामाजिक सञ्जालमा निराशा पोखेका छन् ।

प्रकाशित नतिजा अनुसार अधिकांश सामुदायिक विद्यालयको विद्यार्थी उत्र्तिण प्रतिशत नगन्य छ । गाउँपालिका भित्र कक्षा ८ को बार्षिक परिक्षामा विद्यार्थी सहभागि गराउने २१ वटा विद्यालय मध्ये जम्मा ४ वटा विद्यालयका सम्पूर्ण विद्यार्थी उत्र्तिण भएका छन् । ५ वटा विद्यालयबाट ६० देखि ७९ प्रतिशत, ३ वटा विद्यालयबाट ४४ देखि ४७ प्रतिशत, २ वटा विद्यालयबाट ३० देखि ३६ प्रतिशत, ६ वटा विद्यलालयबाट २० देखि २९ प्रतिशत र एउटा विद्यालयबाट १० प्रतिशत विद्यार्थी उत्र्तिण भएका छन् ।

खाँडादेवि गाउँपालिकाको पुरानो विद्यालयमा पर्ने प्रयागेश्वर मावि पकरवासबाट कक्षा ८ को बार्षिक परिक्षामा २२ जना विद्यार्थी सहभागि भएकोमा ८ जनाले मात्र उत्र्तिण गरेका छन् । पकरवासकै भिमेश्वर प्रशुन कँडेल माविले १० प्रतिशत मात्र विद्यार्थी उत्र्तिण गराएको छ । उक्त माविबाट बार्षिक परिक्षामा ४२ जना विद्यार्थी सहभागि भएकोमा जम्मा ४ जना मात्र उत्र्तिण गरेको नतिजा सार्वजनिक भएको छ ।