रामेछाप । गएराति भएको आगालागिबाट बसोसास गर्ने घर गुमाएका मन्थली ११ गेलुको गजपानीका फष्टवहादुर श्रेष्ठको परिवारलाई शनिबार विभिन्न निकायले घटनास्थलमा पुगेर राहत सामाग्री हस्तान्तरण गरेका छन् ।

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ सहित पुगेका टोलीले नगरपालिकाका तर्फबाट विभिन्न राहत सामाग्री हस्तान्तरण गरेको छ । त्यसैगरी जिल्ला विपद व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी र मन्थली बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न, ओड्ने ओछ्याउने, त्रिपाल, भाडा बर्तन र अन्य अत्यावश्यक सामाग्रीहरु आगलागि पिडित परिवारलाई घटनास्थलमानै पुगेर हस्तान्तरण गरेका छन् ।

गए राति विद्युत चुहावट भई लागेको भनिएको आगोले श्रेष्ठका २ घर जलेर नष्ट भएका थिए । आगोमा परेर नगद ६ लाख ५० हजार, सुनचाँदीका गहना, २५ वटा खसि बाख्रा, अन्न र लत्ता कपडा जलेका थिए । राति साँढे ९ बजे देखि सुरु भएको आगो आज विहान साढे ३ बजे मात्र नियन्त्रणमा आएको थियो ।

यसैविच आगोले घर ध्वस्त भएका परिवारलाई अस्थायी रुपमा वसोवास गराउनका लागि जिल्ला स्थित सुरक्षाकर्मीले अस्थायी आवास निर्माण गर्ने काम थालेका छन् । सो कार्यका लागि खग्गदल गण बाट नेपाली सेना र जिल्ला प्रहरी कार्यालयबाट पुगेका प्रहरीहरु सम्लग्न रहेको जनाइएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य समेत प्रहरीले थालेको वडा अध्यक्ष भीमवहादुर थापामगरले जनाएका छन् ।