रामेछाप । मन्थली नगरपालिकाको आयोजनामा मन्थली अस्पतालमा संचालित स्त्री रोग उपचार तथा शल्यक्रिया शिविरमा १६ जना महिलाहरुको पाठेघरको शल्यक्रिया गरी निकालिएको छ । मन्थली अस्पतालमानै यति धेरै शल्यक्रिया मार्फत पाठेघरको उपचार गरिएको यो पहिलो पटक हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीका अनुसार गएको आईतबार देखि संचालन गरिएको उक्त शिविरमा जिल्लाका विभिन्न भागबाट आएका ३ सय ७५ जना महिलाहरुको रोग परिक्षण समेत गरिएको थियो । त्यस मध्ये ३० जनाको पाठेघरका विभिन्न संक्रमणहरुको उपचार, ४६ जना महिलाहरुको पाठेघरमा रिङ राख्ने कार्य र अन्य रोगका १० जनाको उपचार गरिएको थियो । बर्षौदेखि रोग पालेर बसेका महिलाहरुले शिविर मार्फत सहज उपचार पाएका थिए । काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा शल्यक्रिया गर्दा १ लाख भन्दा बढी खर्च लाग्ने उक्त कार्य मन्थली अस्पतालमा अत्यन्त न्यून शूल्क लिएर गरिएको धामीले वताए ।

६ दिन शिविरमा विराट मेडिकल कलेज विराटनगरकी स्त्री रोग विषेशज्ञ डाक्टर सवाना प्रधान, मन्थली अस्पतालका मेसु डा. केशवसिंह धामी लगाएतको स्वास्थ्यकर्मीको टोलीले सेवा पु¥याएको थियो ।