टीकाप्रसाद भट्ट
रामेछाप । रामेछाप जिल्ला अस्पताल नजिकै वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा जलेर मृत्यू भएका सैनिकको सम्झनामा उक्त अस्पताल परिसरमा सैनिक स्मृति पार्कको निर्माण गरिएको छ । पार्कको निर्माण डिभिजन बन कार्यालय, नेपाली सेनाको खड्ग दल गण र रामेछाप नगरपालिकाको समन्वयमा भएको हो ।
स्मृति पार्कको नेपाली सेनाको ९ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी युवराज कार्की र रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले शुक्रबार उद्घाटन गरेका छन् । सैनिक पार्क अव सर्वसाधारणका लागि खुला हुने जनाइएको छ । पार्क भित्र सैनिकको प्रतिमा र बगैंचा रहेको छ । पार्क भित्रै तत्कालिन माओवादी सशस्त्र युद्धका बेला दोरम्बामा माओवादी पक्षबाट मारिएकी स्वास्थ्यकर्मी रेलिमाई तामाङको सम्झनामा निर्माण गरिएको स्तुपा समेत रहने छ । यसअघी तत्कालिन नेपाली सेनाकै सक्रियतामा निर्माण गरिएको स्तुपा जिर्ण भएकोले पुननिर्माण गरिएको हो ।
२०६६ साल बैशाख १० गते वादीपाखाबाट सुरु भएको बन डढेलो जिल्ला अस्पताल नजिकै आउन थालेपछि तत्कालिन श्रीजंङ्ग गणबाट आगो नियन्त्रणका लागि सैनिक परिचान गरिएका थिए । तलबाट अस्पताल तर्फ आउदै गरेको डढेलो निभाउन गएका मध्ये आगोमा जलेर १३ जना सैनिकले ज्यान गुमाएका थिए । उक्त घटना सैनिक ईतिहासमै दुखद घटनाको रुपमा लिने गरिएको छ ।
नेपाली सेनाले रामेछाप व्यारेक भित्र पनि सो घटनामा मारिएका सैनिकको स्मृतिमा प्रतिमा निर्माण गरी यस अघीनै सम्मान गर्दै आएको थियो । स्मृति पार्कको सुभारम्भका अवसरमा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र खड्ग दल गण रामेछाप व्यारेकका प्रमुख सेनानी प्रमोद पौडेल र जनप्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो ।
