रामेछाप । लुक्ला र रामेछाप तर्फको मौसम विग्रदा रामेछाप विमानस्थलबाट विहानै देखि लुक्ला तर्फका उडान हुन सकेका छैनन् ।
केहि दिन देखि लगातार लुक्लाको मौसम हवाई उडानका लागि अनुकुल थिएन । बारम्बार उडानहरु रद्ध भएका कारण रामेछाप विमानस्थलमा लुक्ला जानका लागि सयौं पर्यटक प्रतिक्षारत छन् । केहि हेलिकप्टर चार्टर गरेर र केहि जीप लिएर फाप्लु हुदै सुर्के तर्फ गएका छन् ।
रामेछापमा अहिले पानी पर्न छोडेको र मौसम सुधार हुदै गएको छ । तर लुक्लामा भने बाक्लो बादल लागिरहेकोले उडान हुने नहुनेमा अझै अन्यौल छ । आज हेलिकप्टर पनि उडेका छैनन् ।
रामेछाप विमानस्थलमा तारा, सीता र समिट एयरले मौसम खुल्ने वित्तिकै उडान गर्ने तयारी गरेका छन् । ती कम्पनीहरुका जहाज रामेछाप विमानस्थलमानै रात्रीकालिन पार्किङ गरेर विहानै देखि उडान गर्ने गरीएको थियो । मौसम खुलेको वेलामा रामेछापबाट लुक्लाका लागि सरदर ५० उडान हुने गरेका छन् ।
