रामेछाप । रामेछापको मन्थलीमा संचालित दुई दिने आँखा शिविरमा १ सय ५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा अन्य १ सय ५० जना आँखाका विरामीहरुको आँखा परिक्षण गरिएको थियो । उपचारका लागि आएका मध्ये २ जनालाई तिलगंगा आँखा अस्पतालमा रिफर गरीएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तामाकोशी सेवा समिति, तामाकोशी अस्पताल, रामेछाप सामुदायिक आँखा केन्द्र र मन्थली बचत तथा ऋण सहकारी संस्था र अन्धोपन निवारण आयोजनाले संयुक्त रुपमा संचालन गरेकोे उक्त शिविरमा रामेछाप र आसपासका जिल्लाका नागरिकले आँखा परिक्षण तथा शल्यक्रिया सेवा पाएका थिए ।

रामेछाप सामुदायिक आँखा केन्द्रका प्रमुख उमेश लोप्चनका अनुसार आँखा शिविरमा तिलगंगा आँखा अस्पतालकी प्रा. डाक्टर लिना बज्राचार्य सहितको स्वास्थ्यकर्मीको टोलीले आँखा परिक्षण तथा शल्यक्रिया गरेको थियो ।