रामेछाप । रामेछाप जिल्लामा रहेका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट पठनपाठन गर्दै आएको मन्थली माविले विद्यालयको अविभावक दिवसको अवसर पारेर दिघ्र सेवा गर्ने र उत्कृष्ट शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेको छ ।

विद्यालयका प्रअ डाक्टर टंकप्रसाद दाहालका अनुसार मंगलबार भएको विद्यालयको अविभावक दिवसका अवसरमा उनीहरुलाई सम्मान पत्र र उपहार सहित सम्मान गरिएको हो । सम्मानीत हुनेमा दीर्घ सेवा गरेका २ जना र उत्कृष्ठ २४ जना रहेका छन् । समारोहमा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ  मन्थली १ का वडा अध्यक्ष हाेमप्रसाद पाैडेल लगाएतले शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका थिए ।

जिल्लाको सबैभन्दा बढी विद्यार्थी रहेको मन्थली माविमा सवै तहमा अध्यापन गराउने शिक्षक शिक्षिका र विद्यालय कर्मचारी सहित ७६ जनाले सेवा गर्दै आएका छन् । उक्त माध्यमिक विद्यालयमा हाल झण्डै १ हजार ९ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । विद्यालयको सिकाई उपलव्धि जिल्लाका सामुदायिक विद्यालय मध्येको उत्कृष्ट रहदै आएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीको अध्यक्षमामा भएको अविभावक दिवसमा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधि लगाएतले विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।