चितवन । रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीले चितवनका दुईवटा उद्योग वाणिज्य संघमा पुगेर व्यवसायीक क्षेत्र सम्बन्धी अनुभव आदान प्रदान गर्नुका साथै व्यवसायिक सम्बन्ध विस्तार गर्ने कुरामा अन्तरक्रिया गरेका छन् ।


आईतबार रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरको नेतृत्वमा चितवनको खैरहनी नगर उद्योग वाणिज्य संघमा पुगेको पदाधिकारीको टोलीले रामेछाप र चितवनका व्यवसायीक क्षेत्रका वर्तमान अवस्था र संभावनाको विषयमा एक अर्का विच चर्चा गरेका थिए ।


चितवनको खैरहनी ठुला र मझौला सयौं उद्योगहरु रहेको शहर हो । उक्त स्थानका उद्योगबाट उत्पादित सामाग्रीको व्यवसायीक क्षेत्र रामेछापमा विस्तार गर्ने र रामेछापमा उत्पादन हुने कृषि र घरेलु उद्योगबाट उत्पादित सामाग्रीको चितवन सम्म वजार विस्तारको संभावनाका बारेमा दुवै उद्योग वाणिज्य संघका पदाधिकारीले अन्तरमन्थन भएको थियो । रामेछापमा व्यवसायीक रुपमा उत्पादन हुने जुनार, किवी र आलुको वजार विस्तार र व्यवसाय विविधिकरणका लागि सहयोग गर्न रामेछापका व्यवसायीहरुले आग्रह गरेका थिए ।


खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष कुमार खनालले रामेछापमा कृषि उपज संग सम्बन्धित उद्योग संचालन गर्न सके किसानहरुलाई आर्थिक रुपमा सवल वनाउन र बाह्य वजार संग लिंंकेज गराउनका लागि सहयोग गर्न सहयोग गर्ने खैरहनी नगर उद्योग वाणिज्य संघ तयार रहेको बचन दिएका थिए ।


आईतबारनै उद्योग वाणिज्य संघ चितवन पुगेको रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीको टोलीले रामेछापमा भएका उद्योग व्यवसाय क्षेत्रका बारेमा प्रकाश पार्दै व्यवसायीक क्षेत्रले भोग्नु परेका समस्या र संभावनाहरुको बारेमा उद्योग वाणिज्य संघ चितवनका पदाधिकारी संग अन्तरक्रिया गरेका थिए ।


कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले चितवन र रामेछापको औद्योगिक र व्यवसायीक धरातल फरक रहेको भन्दै दुवै उद्योग वाणिज्य संघले आउदा दिनमा व्यवसायीक सहकार्य गर्न सक्नुपर्नेमा जोड दिए । चितवन औद्योगिक र व्यवसायीक हिसावले नेपालकै अग्रणी उद्योग वाणिज्य संघको रुपमा रहेको छ ।


कार्यक्रमहरुमा दुवै जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीहरुले भोलीका दिनमा दुई जिल्लाको व्यवसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिएका थिए ।