रामेछाप । आज विहान रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एयरको विमानमा उड्ने वित्तिकै प्राविधिक समस्या देखिएपछि पुनः रामेछाप विमानस्थलमानै अवतरण गराईएको छ ।


उडेर उचाई लिने क्रममा विमानको ईन्डिकेटरमा समस्या देखापरेपछि चालकहरुले विमानलाई रामेछाप विमानस्थलमानै अवतरण गराएका थिए । विहान ८ बजेर ४५ मिनेट जाँदा रामेछापबाट १५ जना यात्रु बोकेर उडेको आई एन ए के जेड कलसाईनको उक्त जहाजमा देखिएको उक्त समस्यालाई नेपाल नागरिक उडड्यन कार्यालयलाई सामान्य भनेको छ ।


लुक्लामा प्राविधिक जनशक्ति नभएकाले सामान्यनै भएपनि समस्या देखिएपछि जहाजलाई जति सक्दो चाडो प्राविधिक परिक्षणका लागि अवतरण गराउनु पर्ने भएर रामेछाप विमानस्थलमानै तत्कालै ओरालिएको हो । रामेछाप विमानस्थलमा उडान ईन्जिनियरहरु बस्ने तर लुक्लामा ईन्जिनियर नभएकाले त्यसो गरिएको बताइएको छ ।


रामेछाप नागरिक उड्यन कार्यालयका प्रमुख हिरण शाहका अनुसार प्राविधिक समस्या देखिएको उक्त जहाजलाई रामेछाप विमानस्थलमा रहेका ईन्जिनियरहरुले परिक्षण गरी उडान सुरु गरीसकेका छन् । शाहका अनुसार उक्त जहाज अहिले रामेछापबाट काठमाडौं गएको र काठमाडौं बाट फेरी रामेछाप फर्कने कार्यतालिका रहेको छ ।