रामेछाप । रामेछाप नगरपालिका –५ को बेलटारबाट सल्केको डढेलोले २ घर र ५ वटा गोठ जलेका छन् । मंगलबार दिउसो रामपुरको बेलटारबाट सल्केको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् । डडेलोले घरमा भएका अन्नपात र पशु चौपाय समेत मरेका छन् ।


रामेछाप ५ का वडाअध्यक्ष हरिश्चन्द्र श्रेष्ठका अनुसार स्थानीय ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा डढेलो फैलिएको छ । अहिले बसन्त सामुदायिक बनमा डढेलो लागिरहेको वडा अध्यक्ष श्रेष्ठले वताएका छन् ।


रामपुरको डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय , सुरक्षाकर्मी ,जनप्रतिनिधी र स्थानीय बासिन्दाहरुले प्रयास गरीरहेका छन् । डढेलोका कारण रामेछाप नगरपालिकाले बर्षेनी ठुलो क्षति वेहोर्दै आएको छ । जिल्लाको दक्षिणी भागमा पर्ने रामेछाप अत्यन्त सुख्खा रहेको, अधिकांश भिरालो जग्गा भएको र सल्ला प्रजातिका विरुवा भएकाले डढेलो नियन्त्रणका लागि कठिन हुने गरेको छ ।


रामेछाप अस्पताल नजिकको वादीपाखा सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा १३ जना सैनिकले ज्यान गुमाएको घटना रामेछापका लागि सधैं त्रासदी वनेर वसेको छ । दुई बर्ष अघी सुकाजोरको रजाईछाप, गत बर्ष टार र आसपासको क्षेत्रमा लागेको डढेलोले दर्जनौ घर जलेका र करोडौंको सम्पत्ति स्वाहा भएका थिए । २०८० सालमा बन ऐन जारी गरेको रामेछाप नगरपालिकाले केहि दिन अघी मात्रै सामुदायिक बनका पदाधिकारीहरुलाई बन व्यवस्थापन र डढेलो नियन्त्रणका लागि  अभिमुखीकरण गर्ने अभियान थालेको थियो । ग्रामिण क्षेत्रमा युवा जनशक्ति घटदै गएको, बन पैदावार संग जोडिएको सम्बन्ध आधुनिकता सगैं विस्तारै घटदै गएकाले बन व्यवस्थापनमा समस्या हुँदा बन डढेलो लाग्ने क्रम बढ्दो छ ।