रामेछाप । रामेछापको मन्थलीमा गत माघ १५ देखि २६ सम्म संचालन भएको रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनीको आयोजना गर्दा रामेछाप उद्योग वाणिज्य संघले घाटा बेहोर्नु परेको छ ।


जिल्लाको साझा दायित्वमा पर्ने उक्त मेला प्रदर्शनीमा रामेछाप उद्योग वाणिज्य संघले सहयोगको लागि सवै सरोकारवाला निकायमा हात फैलाएको थियो । तर हाल सम्म आएको सहयोग निराशाजनक देखिएको छ । प्रदर्शनीको अवधिमा ३ लाख २० हजार ५ सय आर्जन गरेको संघले १६ लाख ३० हजार ३ सय ३८ रुपैंयाँ खर्चेको थियो ।
प्रदर्शनी मेलामा जिल्लाभर उत्पादन हुने कृषि उपज, पर्यटकीय महत्वका स्थानको बारेमा प्रदर्शनी, घरेलु तथा हस्तकलाका सामाग्री, विभिन्न जात जातिका झाँकी, सांगितिक कार्यक्रम लगाएत समावेश गरिएका थिए ।


हामीले प्रदेश सरकार र मातहतका निकाय, सबै स्थानीय तहमा पुगेर मेला प्रदर्शनीको प्रश्तावपत्र दिदै सहयोगका लागि आग्रह गरेका थियौं , रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरले भने – तर हाल सम्म सुनापति गाउँपालिका बाहेक अन्यत्रबाट सहयोग प्राप्त भइसकेको छैन् । उनले प्रदेश र स्थानीय सरकारका प्रमुखहरुले गरेको प्रतिवद्धता अनुसारको सहयोग आउनेमा आशावादी रहेको वताए । सवैको सहयोग आएमा रामेछाप उद्योग वाणिज्य संघले मेला प्रदर्शनीको लागि आफ्नो कोष चलाउनु पर्दैन् उनले भने ।


रामेछाप उद्योग वाणिज्य संघले उक्त मेला प्रदर्शनीमा भएको आम्दानी खर्चको विबरण सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । संघका कोषाध्यक्ष झनकवहादुर बुढाथोक ( उत्तम ) ले आम्दानी र खर्चको विवरण प्रश्तुत गरेका थिए ।