टीकाप्रसाद भट्ट
नेपाल बायु सेवाका जहाज थोरै थिए । नेपालका दुर्गम स्थानका साना विमास्थलमा यात्रु बोकेर उडान गर्नु भन्दा विमान चालकहरु भरसक सुविधा सम्पन्न विमानस्थलमै उडान गर्न रुुचाउने गर्थे । त्यसका दुईटा कारण थिए । एउटा सुविधा सम्पन्न विमानस्थलमा उडान गर्दा केहि गरी जहाजमा प्राविधिक समस्या आयो भने मर्मत संभारका साथै विमान सुरक्षित राख्न र चालकदलका सदस्यहरु सुविधा सम्पन्न होटलमा वस्न पाउने । अनि अर्को चाँहि सुविधा सम्पन्न विमानस्थल तर्फ ठुलै पहुँचवालालाई यात्रा गराउनु पर्ने ।
रामेछापमा नेपाल बायुसेवा निगमले २०३५ साल देखि नियमित सातामा तीन वटा उडान गर्ने गर्दथ्यो । सडकको सुविधा नहुदाँ यात्रुहरुले दुवै तर्फको टिकट पाउन हम्मे पर्ने गर्दथ्यो । हप्तौ अघी देखि लाईनमा बसेर टिकट काटनु पर्ने बाध्यता थियो । दशैं तिहार जस्ता चाडमा त नेपाल बायु सेवा निगमको काठमाडौं विक्री काउण्टर अघी रातभरी लाईन वसेर टिकट काट्ने धेरै हुन्थे ।
बसमा होस या जहाजमा यात्रा गर्नेले पैसा तिरेरै टिकट काट्ने हो । जहाजको सिट क्षमता भन्दा बढी टिकट कसैले दिन सक्ने कुरा भएन । तर नेपाल बायु सेवा निगममा भएको टिकट पनि लुकाउने, कृतिम नाम राखेर सिट त्यत्तिकै ओगटेर राख्ने तर पैसाको पोको बोकेर आउने यात्रुलाई टिकट नदिने, मोल मोलाईजा र चाकडि गर्ने कोहि आईहाले भने कृतिम नामलाई च्याट्ट काटेर टिकट दिने तर त्यस्तो कोहि आएन भने सीट खाली राखेर जहाज उडाई दिने बदमासहरुको बाहुल्यता हुने गर्दथ्यो । थियो । सिट बराबरकाे टिकट काटेर दिने कुरामा उनीहरु आफ्नै बा काे सम्पति दिएकाे जस्ताे गर्दथे । मैले मिलाई दिएँ भनेर जस लिन खाेज्थे ।
हामी रामेछापको यात्राका लागि धेरै पटक यस प्रकारको भोगाईमा परेका थियौं । छौं । मरेर तपाईलाई टिकट मिलाईदिएको छु भनेर भन्नेहरु थुप्रै हुन्थे । जव जहाज चढन विमानस्थलमा पुग्दा आवश्यक यात्रुनै पुग्दैनथे । सिट खाली राखेर विमान उड्ने गर्दथ्यो । त्यसैले त आज सम्म नेपाल बायुसेवा निगम उभोँ लागेको छैन् ।
२०५६ सालमा रामेछापमा सडक सुविधा पुगेपछि विमानमा यात्रा गर्नेहरुको चाप थोरै घटन थाल्यो । तर तत्कालिन अवस्थामा माओवादी विद्रोह खुव चम्किएको थियो । विच सडकमा सार्वजनिक सवारी साधन रोक्ने, चेक गर्ने, सेना प्रहरी या सरकारी कर्मचारी छ छैन् भनेर सोध्ने, भए नियन्त्रणमा लिने, हत्या गर्ने, सार्वजनिक बस जलाउने या एम्बुसमा पार्ने जस्ता थुप्रै घटनामा रामेछापबासी पिडित भए । त्यैपनि सडक यात्रा सर्वसाधरणको बाध्यता थियो । सडकको यात्रा गर्नै पर्ने । ठाउँ ठाउँमा राखेका सरकारी निकायको जाँच केन्द्रहरुले पनि यात्रुलाई हैरानी दिन्थे । टाढै बस रोक्न लगाएर यात्रुहरु झारेर पैदल हिडाउँने, जिउ देखि झोला झाम्टा चेक गरेर फेरी अलि पर पुगेर बस चढ्नु पर्ने बाध्यता बालबालिका देखि बृद्धबृद्धा हरु सवैलाई थियो । के सरकारी के गैरसरकारी सवैले सरकारी सुरक्षाले जे भन्थे त्यहि गर्नुपरेको थियो । त्यो कति जरुरी थियो र कति प्रभावकारी त्यसबेलामा पक्कै पनि समिक्षा भएकै हुनुपर्दछ । बास्तविक माओवादीले सार्वजनिक यातायातमा यात्रा गरि हालेमा पनि निश्चित स्थानमा रहेका सुरक्षापोष्ट भन्दा केहि परै या वरै झरेर त्यसलाई छलेर अर्कै स्थानमा पुग्ने गर्थे भन्ने हामीले सुनेका थियौं । सत्य के हो त्यस बेलाका माओवादीलाईनै थाहा होला । तर हामीले जानेको सत्य चाँहि के हो भने सरकारी चेक पोष्टमा बन्दुकधारी माओवादी कोहि फेला परेनन् र त्यति धेरै विष्पोटक पदार्थ पनि फेला परेका सूचना सर्वसाधारणले पाएनन् ।
सडकको यस प्रकारको हैरानीले गर्दा सिमित भएपनि जहाजले यात्रु पाएकै हुन्थे । झण्डै १० देखि १२ घण्टाको कठिन बसको यात्रा भन्दा १८ मिनेटको हवाई यात्रा गर्न नरुचाउने कुरै भएन । तर जव शान्ति प्रकृया भयो , त्यसपछि हवाई यात्रु ह्वात्तै घट्योे । पैसा धेरै तिर्नु पर्ने पिरलोले जहाज भन्दा बस चढेर यात्रा गर्ने बढी भए । त्यैपनि नेपाल बायु सेवाको जहाज रामेछापमा आउने जाने क्रम रोकिईहालेको चाँहि थिएन ।
त्यो सयमा नेपाल बायु सेवा निगमको रामेछाप स्टेशन प्रमुखको रुपमा दिलीप खरेल कार्यरत थिए । बहुत मिजासिला ति हाकिम चाँहि पैसोको पोको बोकेर टिकट लिन आउनेलाई छैन् भन्ने त परै जावस, लु न हाम्रो उडानमा गईदिनु पर्यो भन्दै यात्रु खोज्दै बजार तिर धाउथे । उनकै सक्रियता र मिजासमा धेरैले हवाई यात्राको सेवा पनि पाए । बसमा जान ठिक्क परेका यात्रु थाहा पाए भने उनले फस्याङ फुस्लुङ पारेर जहाजमा यात्रा गर्न तयार बनाउथे । खरेलको मार्केटिङ कलाले धेरैले यस अवधिमा जहाजको यात्रा गरे ।
त्यति मात्र हैन्, खरेलको अरु कला पनि थियो । रामेछापमा कुन जहाज र चालक दलका कुन सदस्य आउने हुन् भन्ने जानकारी विमानस्थलको टर्मिनल मार्फत उडान तालिकाको दिन विहानै आउथ्यो । त्यसपछि खरेल रामेछापको उडानका लागि तोकिएका ति चालक दलका सदस्यहरुलाई फोन घुमाउथे । विमानै देखि केहि गन्तव्यमा उडान गरीसकेर थाकेका पाईलटहरु तामाकोशीको असला माछा सँग नलोभिने कुरै भएन । खरेलले भन्थे, माछा र खाना बनाएको छु है, आउनु पर्छ । त्यसपछि त विमानचालकहरुले अपरेशन विभागलाई म जान्न भन्दैनथे , उनीहरुको जिब्रोमा रामेछाप विमानस्थल छेउका राजकुमार श्रेष्ठले बनाएको माछाको स्वाद झुण्डिसकेको थियो । विमान आउथ्यो, पाईलटहरुले माछा भात खान्थे, पैसा तिर्ने पाईलटहरुनै हुन्थे । खरेल त यसो मेसो मात्र मिलाउने । केहि अवस्थमा रामेछापमा लोकल खसी काटेर त्यसको मासुको स्वादमा लोभ्याएर पनि उनले जहाजको उडान गराए । त्यसमा रामेछाप विमानस्थलका एटिसीहरु रमेश महत र केदार सत्यालको पनि राम्रै साथ थियो । खरेलका अरु पनि धेरै गुण थिए । साथि भाई सँग घुलमिल भएर मार्केटिङ गर्ने कला उनको खुबै लोभलाग्दो थियो ।
जब खरेल गए, अर्को मानिस लाई हाकिम बनाएर पठाएपछि फेरी यात्रुले उही पुरानै हैरानी पाए । टिकट लुकाउने , खाली सिट जहाज उडाउने । जहाजमा चढने यात्रु देखि चालकदल र अरु हाकीमलाई लोभ्याउने खरेलको अघी अरुको सेवा प्रभावहिन हुन पुग्यो । २०६४ चैतमा संविधानसभाको निर्वाचन पश्चात माओवादी सरकारमा आयो । २०६५ बैशाखको पहिलो साता नेपाल बायु सेवा निगमको जहाजले रामेछापबाट सदाको लागि पाङ्ग्रा उचाल्यो । त्यसो गर्नुमा व्यवस्थापनको एउटै उत्तर थियो – यात्रु भएनन् । त्यस यता आज सम्म फेरी नेबानीको जहाज रामेछाप ओर्लिएको छैन् ।
