रामेछाप । सडक आयोजनाले रामेछाप बजार सडक खण्ड कालोपत्र गर्छ भन्ने आशा गर्दा गर्दै स्थानीय तहका दुई कार्यकाल विते । पहिलो नगर प्रमुख देखि वर्तमान नगर प्रमुख लगाएत वजारबासीले सडकमा उडेको धुलो खाए, हिलो सहे । सास्ती खेप्दा खेप्दै बर्षहरु विते, तर सडक जस्ताको तस्तै रह्यो । सुध्रिनु पर्ने सडक पछिल्लो चरणमा पहिलेको भन्दा अझ विग्रीयो ।
रामेछाप बजारमा पुग्ने जो कोहिको पहिलो प्रश्न हुने गर्छ – बजार पिच हुदैन ? कहिले होला ? नगरपालिकाको अघी हिलो पो छ त ? नगरपालिकाले के हेरेको ? नगरपालिका आफैले यति जाबो कालोपत्र गर्न सक्दैन् र ? । तर यी सवै प्रश्नको जवाफ दिन स्थानीय सरकारले सकेको छैन् । भन्दा, लेख्दा, तर्साउदा अनि फकाउदा केहि सीप चलेन्, निर्माण व्यवसायीको लाचारीपनको अघी सबैको प्रयास बिफल हुदै आएको छ ।
रामेछाप, सालु, देउराली र साँघुटार बजार समेट्ने गरी सरकारले अघी सारेको सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण थालेको ६ बर्ष पुरा भयो । सन् २०२० मा थालेको उक्त सडक २०२३ मा सक्नु पर्ने थियो । तर पटक पटक म्याद थप्दा पनि सडक अझै आधा भएको छैन् । ५० किलोमिटर सडक खण्ड मध्ये सेलेघाट देखि रामेछाप खण्डको अधिकांश भागमा कालोपत्र भएको थियो तर दुई बर्ष अघी भएको उक्त कालोपत्र पनि भत्किएर साविककै अवस्थामा सडक पुगेको छ । रामेछाप ८ का पूर्व वडा अध्यक्ष केदार कार्कीले निर्माण व्यवसायीको चरम लापरवाहिले नगर र बजारबासिन्दाले धेरै हैरानी खेप्नु परेको गुनासो गरे ।
पछिल्लो चोटि रामेछाप बजारमा धुलो र हिलो हुन नदिने गरी सडकको कालोपत्र गर्ने गरी काम अघी बढेकोमा उक्त काम पनि त्यसै छोडिएको छ । बर्षा अघी बजारमा मेसिन चलाएर हिलाम्मे वनाउने निर्माण व्यवसायी अहिले काममा छैनन् । अन्यत्र सडकको काम धमाधम भएपनि मन्थली देखि साँघुटार जाने सडक भने जहिल्यै सुनसान हुने गरेको छ । निर्माण व्यवसायी ईन्डिया टेलिकमिनीकेशन लिमिटेडले नेपाली निर्माण व्यवसायीलाई कामको जिम्मा दिएपनि नेपाली निर्माण व्यवसायीहरु एक पछि अर्को गर्दै काम छा्ेड्ने र हिड्ने प्रबृति देखा परेको छ ।
रामेछाप नगरपालिकाले आन्तरिक तथा समपुरक योजनाको रुपमा पनि बजारलाई कालोपत्र गर्न सक्थ्यो । तर सडक आयोजनाको रेखामा परिसकेकोले नगर र समपुरकको योजनामा उक्त काम गर्न नपाएकोले बजारबासीको असुविधालाई टुलुटुलु हेरेर बस्नु परेको नगर प्रमुख लबश्री न्यौपाने वताउछन् । लगानी गरौ, त्यहि सडक बनाउनका लागि ठेक्का संझौता भईसकेको छ, नगरौं यो हालत खेप्नु पर्यो न्यौपानेले भने । न्यौपानेले सडकको कामलाई तिव्रता दिन पटक पटक छलफल र निर्णय गराएको भएपनि उपलव्धि हासिल गर्न नसकेको वताउदै अहिले पनि सडकको काम संतोषजनक नभएको वताए ।
