रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले बिपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्डबाट रामेछाप तर्फ आउने मालबाहक साधनलाई दिउँसोको समयमा पनि संचालन गर्नका लागि माग गरेको छ ।
सिन्धुली प्रशासनले उक्त सडक खण्डबाट रामेछाप तर्फ जाने ढुवानीका साधनलाई साँझ ६ बजे पछि रातको समयमा मात्र संचालन गर्न दिने गरी निर्णय गरेपछि संघले उक्त निर्णय सच्चाएर दिउँसोको समयमा पनि ढुवानीका साधन संचालन गर्न दिने व्यवस्थाको माग गरेको हो । सोहि मार्गबाट काठमाडौं तर्फ जाने ढुवानीका साधनलाई भने रोकावट नभएको तर रामेछाप तर्फ जाने साधनलाई रोकेको निर्णय प्रति गुनासो गर्दै संघले समान व्यवहारको अपेक्षा गरेको छ ।
शुक्रबार रामेछापकी प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरलाई संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले उक्त माग पत्र बुझाएका छन् । रातको समयमा सो मार्ग भएर दोलखा सम्म पुग्नु पर्ने भएकाले सवारी दुर्घटना र सुरक्षाको विषय उठाउदै पत्रमा दिउँसो ढुवानीका साधन बन्द गर्दा दुध, ग्याँस लगाएत चाडबाड लक्षित दैनिक उपभोग्य वस्तु र निर्माण सामाग्रीको ढुवानी र भण्डारणमा समेत असर पर्ने उल्लेख गरिएको छ ।
रामेछाप उद्योग वाणिज्य संघको मागपत्र बुझ्दै प्रजिअ कुँवरले सिन्धुली प्रशासन संग आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने बताएकी छिन् ।
यसअघी बिहिबार उद्योग बाणिज्य संघ दोलखाले समेत सोहि विषयलाई लिएर दोलखाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । दोलखामा तराई क्षेत्रबाटै तरकारी, खाद्यान्न र निर्माण सामाग्री लगाएतका सामान ढुवानी हुने गरेको छ ।
