रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले भदौ १० गते भोटेकोशीमा आएको बाढी बाट पुगेको क्षतिको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ ।
गाउँपालिकाले पालिका भित्र कार्यरत कर्मचारी र शिक्षकहरुको तलव समेत उक्त कोषमा जम्मा हुने गरी थप सहयोग गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार अधिकृत स्तरका कर्मचारी शिक्षकको ७ दिनको तलव, सहायक प्रथम स्तरका कर्मचारीको ६ दिनको तलव, सहायक चौथो तहका कर्मचारी बाट ५ दिनको तलव र श्रेणी विहिनबाट २ दिनको तलव बराबरको रकम कटाएर उक्त कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानको अध्यक्षतामा भएको कार्यपालिकाको बैठकले दोरम्बा शैलुङ गाउँपालिका भित्रका नागरिक उक्त बाढीमा परेर मृत्यू भएकाको हकमा प्रति मृतक परिवार ५० हजार रुपैयाँ काजक्रिया खर्च उपलव्ध गराउने निर्णय समेत गरिएको छ ।
