रामेछाप । रामेछापको मन्थलीमा रहेको कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुल (केब्स) का शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाहरूको राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

बाढीपहिरोका कारण घरबारविहीन बनेका र अध्ययन सामग्री गुमाएर समस्यामा परेका पीडितहरुलाई लक्षित गरी विद्यालय परिवारले संकलन गरेको कुल ८७ हजार ५ सय ७८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार जम्मा गरिएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको सन्दर्भमा विद्यालयमा अध्ययनरत करिब ६ सय विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटौती गरी बाढीपीडितहरुका लागि स्वेच्छिक रकम संकलन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक केशव अमोल तिमिल्सीनाका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट ३८ हजार २ सय २२ रुपैयाँ संकलन भएको र विद्यालय परिसरमा राखिएको दान पेटिकाबाट ८ हजार १ सय ६१ रुपैयाँ संकलन भएको थियो । कोषका लागि विद्यालयका शिक्षकहरुले २ दिनको तलव बरावर हुने ४१ हजार १ सय ९५ रुपैयाँ थपेर कोषमा जम्मा गरिएको हो । बाढीमा विद्यालयका पूर्व विद्यार्थी सुन्दर श्रेष्ठ समेत परेका छन् । हाल सम्म उनको अवस्थाको बारेमा परिवारले कुनै सूचना पाएको छैन् ।