रामेछाप । हिमगंगामा सुविधा भएन भनेर गाउँको जग्गा जमिन विक्री गरी बसाई हिड्नेहरु अहिले पछुताउन थालेका छन् । गाउँमै यतिधेरै सुविधा होला भन्ने भएको भए हामी किन छोड्थ्यौं र भन्नेहरु बाक्लै छन् । दक्षिणपूर्वि रामेछापको हिमगंगा पहिले खासै सुविधा थिएन् । सडक विजुली देख्न टाढै जानु पर्ने अवस्था थियो । सिंचाई र खानेपानीको समेत पूर्वाधार नहुदाँ गाउँलेहरु एक पछि अर्को गर्दै धेरै बसाई सरेर तराई झरे ।
अहिले हिमगंगामा विकास घर दैलोमानै पुगेको छ । अन्य दुर्गम गाउँ भन्दा सहज भएको छ हिमगंगाको गाउँ वस्ती । सवै वडामा सडक पुगेको त थियो नै । पछिल्लो अवधिमा लिखु करिडोरको निर्माण र संचालनले हिमगंगाको स्वरुप बदलिदिएको छ ।
केहि महिना अघी मात्र सुनकोशी नदी माथि नबलपुरघाट पक्कि पुलको निर्माण पुरा भएको हो । उक्त पुलले तराई र पहाडलाई जोडेको छ । नबलपुलमा पुल नहुदा खुर्कोटको पुल तारेर सालु देउराली हुदै पुग्नु पर्ने मालसामान अव झण्डै १ घण्टाको सडक यात्रा पछि सजिलै साँघुटार पुग्छन् । ‘ यो चमात्कारिक उपलव्धि हो ’ स्थानीय रणवहानुर सुनुवारले भने – यस्तो होला भन्ने त लागेकै थिएन ।
नबलपुरघाट देखि उत्तरी रामेछाप सम्म पुग्न यहि हिमगंगाको फेदी बाट ठुलो र चौडा सडक संचालन हुन थालेको छ । जसलाई सरकार र स्थानीयले लिखु करिडोर नाम दिएका छन् । यात्रुबाहक बसले सो सडकमा सुविधा दिन थालेको र मालबाहक सवारीका साधन धेरै गुड्न लागेकोले स्थानीय गद्गद् छन् । यो करिडोर लिखु किनारै किनार उमाकुण्ड सम्म पुग्ने गरी सरकारले निर्माण र गुणस्तरबृद्धि गर्दै आएको छ ।

नबलपुल देखि हिमगंगाको सिमा फुन्द्रीखोला सम्मको सडक कालोपत्र भइसकेको छ । साँघुटार सम्मको जम्मा १७ किलोमिटर मध्ये झण्डै ५ किलोमिटरको पक्कि सडक र अरु बाँकी १२ किलोमिटर ग्राभेल स्तरको सडक निर्माणका कारण ओखलढुंगाको पश्चिमी भाग र रामेछापको पूर्वि भागका धेरैले उक्त सडक प्रयोग गर्न थालेका छन् । ‘सडक राम्रो र चौडा भएकाले ठुला भारबाहक साधन पनि चलेका छन् ’ रामेछाप नगरपालिका ४ हिमगंगाका पूर्व वडा अध्यक्ष टुपेन्द्र तामाङ भन्छन् – सुविधा त राम्रै छ, ठुला साधन चल्दा सडक अलि चाडै विग्रदो रहेछ ।
गाउँमा सडक, सिंचाई र कृषि औजार सहितको सुविधा थपिएपछि स्थानीय बासिन्दाहरु केरा, भईकटहर, लिचि लगाएतका फलफुल लगाउन थालेका छन् । कृषि उपजहरु रामेछाप, साँघुटार, मन्थली र सिधै काठमाडौं पठाएर गाउँमा पैसा भित्र्याउनका लागि किसानले अभियान थालेका छन् । तामाङ भन्छन् – तराईको भन्दा हाम्रो हावापानीमा फलेको आँप अझ राम्रो हुन्छ, धेरैले रुचाउछन् ।
लिखु करिडोर संचालनमा आएपछि ठुला मालवाहक साधनमा जिल्लाको उत्पादन पनि तराईमा जान थालेको छ । उत्तरी क्षेत्रमा रहेका विभिन्न जातका काठ, राँगाभैंसी, आलु, जडिवुटि लगाएत बढी मात्रामा बाहिरीन थालेका छन् । पहिले जिल्ला सदरमुकाम हुदै जाने सडकमा साना भारबहक सामान बोक्ने साधनलाई मात्र गुड्न दिने गरेकोले ठुला मालवाहक साधन गुड्ने गरेका छैनन् ।
