रामेछाप । भदौ १० गते गएको प्रलयकारी भोटेकोशी बाढी बाट प्रभावित परिवारको राहत तथा पुननिर्माणका लागि रामेछापको गोकुलगंगा गाउँपालिकाले २२ लाख ६ हजार ५ सय ७० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष काजिवहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाले विपत व्यवस्थापन कोष बाट १ लाख, जनप्रतिनिधिहरुको मासिक तलबको १० प्रतिशत, अधिकृत स्तरका कर्मचारीको ७ दिनको तलव, सहायक स्तरका कर्मचारीको ५ दिनको तलव र श्रेणी विहिन कर्मचारीको २ दिनको तलवले हुने रकम जम्मा गरी कोषमा पठाईन लागेको हो । सहयोग रकम पालिकामा कार्यरत, निजामति, शिक्षक र विद्यालय स्तरका कर्मचारीबाट कटाईने उल्लेख छ ।

यसैविच उक्त बाढीमा गोकुलगंगा गाउँपालिका भित्र बसोवास गर्ने ४ जना हराईरहेका छन् । उनीहरुको खोजी कार्यमा सहयोगका लागि २५ हजारको दरले उपलव्ध गराउने निर्णय पनि गरिएको जनाइएको छ ।

गोकुलगंगा गाउँपालिका ४ बेतालीका ईश्वरवहादुर खड्का ( कुमार ), लि वहादुर विक (राजु) र सुरज श्रेष्ठ तथा वडा नम्बर ३ रस्नालु घर भएका प्रहरी कर्मचारी सम्राट शेर्पा वेपत्ता छन् । उनीहरुको परिवारजनलाई खोजि कार्यमा सहजताका लागि उक्त सहयोग उपलव्ध गराउने निर्णय भएको हो । रामेछापमा गोकुलगंगा बाहेक अन्य पालिकाले दैबिप्रकोप उद्धार कोषमा रकम दिने सम्बन्धि कुनै निर्णय गरिसकेका छैनन् ।