सिन्धुली । लेदो सहितको पहिरो खसेपछि सोमबार विहान देखि अवरुद्ध भएको बिपी राजमार्ग दुईतर्फि संचालनमा आएको छ । विहान ४ बजे तिर नार्केमा झरेको लेदो सहितको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । सडक विभागको भक्तपुर डिभिजन, रोशी गाउँपालिका र निर्माण व्यवसायीका पहलमा उक्त पहिरो पन्छाएर यातायात संचालनमा ल्याएको प्रहरीले जनाएको छ ।
२०८० सालमा आएको बाढीले बिपी राजमार्गको झण्डै २९ किलोमिटर सडक पूर्ण रुपमा बगाएको थियो । उक्त खण्डको पुननिर्माणको लागि नेपाल सरकारले विभिन्न ३ वटा प्याकेज बनाएर ठेक्का लगाएको छ । उक्त ठेक्का अन्तरगत विभिन्न स्थानमा निर्माणको काम धमाधम भइरहेको छ ।

बर्षाको सिजनमा पुननिर्माण हुदै गरेको सडकबाटै अधिकांश स्थानमा राजमार्ग संचालनमा ल्याइएको छ । सडक निर्माण गर्न बाँकी रहेको भएपनि बर्षायाममा खोलाको बाटोबाट यातायात संचालन हुन नसक्ने भएपछि निर्माणाधिन अवस्थामै रहेको सडकमा अचेल सवारी साधन आवत जावत गर्न थालेका छन् । तर अझै केहि स्थानमा भने खोलाको यात्रा गर्नै पर्ने अवस्था छ । सिन्धुली जिल्ला तर्फ पर्ने सडकमा रोशी खोलाको बगरबाटै यातायात संचालन हुनेगर्छ ।
यसैबिच राजमार्गको पुननिर्माण सगैं चौडा पार्ने काम पनि भइरहेको छ । २०८० सालमा बाढीको कटानमा परेको राजमार्गमा दर्जनौ स्थानमा पहिरो चलेको थियो । सडक चौडा पार्ने काममा पनि दक्षिण तर्फको पाखो कटान भएकाले थप पहिरो चल्ने त्रास छ । अधिकांश स्थानमा सडकमा गुड्ने यात्रुहरुले माथि पाखामा हेर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
नेपालमा पहिरो रोकथामका लागि प्रभावकारी निर्माण हुने गरेको छैन् । दशकौं अघी निर्माण भएको देशको मेरुदण्ड सडकको रुपमा रहेको पृथ्वि राजमार्गमा हरेक दिन जस्तो पहिरोले सवारी आवागमन रोक्ने गरेको छ । विपी राजमार्गमा पनि त्यस्तै अवस्था आउन सक्ने तर्फ स्थानीयले प्राविधिकहरुलाई ध्यानाकर्षण गराउदै आएका छन् । तर पहिरोको प्रभावकारी नियन्त्रणको काम भने हुने तरखर छैन् ।
