रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका वडा नम्बर ५ को गोगनपानीमा शनिबार नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछाप र सामुदायिक प्रहरी सेवा केन्द्र रामेछापको संयुक्त आयोजनामा भएको उक्त सुनुवाई कार्यक्रममा समुदायमा हुने सामान्य भनाभन र झै झगडा देखि कानुनी अनविज्ञताका कारण झेल्नु परेका विभिन्न समस्याहरुको विषयमा समुदायका बासिन्दा र जनप्रतिनिधि समेतको सहभागितामा अन्तरक्रिया भएको छ । कार्यक्रममा जिल्लामा घटेका विभिन्न घटनाहरु र कारवाहिको अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालयले प्रश्तुतीकरण गरेको छ ।

समाजमा मदिराको बिक्री वितरण र सेवन, कानुनले निषेध गरेको जुवा तास, गाँजा र लागू पदार्थ सेवन जस्ता गतिविधिहरु हुन नदिन, त्यस्ता स्थानहरु पहिचान गर्न र समयमानै त्यस्तो क्रियाकलापहरुको नियन्त्रणका लागि सामुहिक प्रयासको खाँचो रहेको औंल्याइएको थियो । कार्यक्रममा स्थानीय बासिन्दाहरुले नदीमा करेन्ट लगाएर माछा मार्ने काम भइरहेको, ट्राफिक व्यवस्थापनमा चुनौति रहेकोले ग्रामिण क्षेत्रमा यातायातका साधनले मनलागि मानिस बोक्ने गरेका, घरेलु हिंसा र बालविवाह अझै नघटेको लगाएतका गुनासोहरु गरेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरिक्षक सन्तुलाल प्रसाद जयसबार, खाँडादेवि गाउँपालिकाकी उप प्रमुख रमा घिसिङ, सामुदायिक सेवा केन्द्र रामेछापका अध्यक्ष विरेन्द्र श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेश उदास, ईलाका प्रहरी कार्यालय चोप्राङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकहरु, पार्टी प्रतिनिधिहरु, पत्रकारहरु र जनप्रतिनिधिहरु लगाएतको सहभागिता रहेको छ ।

