रामेछाप- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारको नेतृत्व अनुभवहिन व्यक्ति भएका कारण जनताले दुःख पाएको बताए । वर्तमान सरकारले सुरुमा आशा जगाए पनि कार्यसम्पादन (डेलिभरी) मा असफल भएको आरोप लगाए । सरकारका प्रतिबद्धता र व्यवहारबिच ठूलो अन्तर देखिएको भन्दै उनले वर्तमान सरकार विगतका सरकारभन्दा कमजोर, विवादास्पद र जनहितविपरीत काममा केन्द्रित भएको टिप्पणी गरे ।
एमाले रामेछापको नवनिर्मित जिल्ला पार्टी कार्यालय ‘मदन–आश्रित स्मृति भवन’ उद्घाटन कार्यक्रम लागि रामेछापको सदरमुकाम मन्थली आएका पोखरेलले शुक्रवार पत्रकारसँग कुरा गर्दै सरकार गठनको सुरुवाती चरणमा देखिएको सक्रियताले सकारात्मक सन्देश दिएको भएपनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्न नसकेको बताए ।
सरकार गठनपछि पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्ने प्रक्रिया तथा १०० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिँदा सरकारले गति लिएको आभास भएको थियो, उनले भने– त्यसपछिका गतिविधिले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ । पक्राउको औचित्य पुष्टि हुन नसकेको र मुद्दा दर्ताका लागि पर्याप्त आधारसमेत प्रस्तुत गर्न नसकिएको दाबी गर्दै उनले त्यसले ती कदम प्रतिशोधपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको सन्देश दिएको बताए ।
महासचिव पोखरेलले सरकारको १०० बुँदे प्रतिबद्धता कार्यान्वयनमा पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको आरोप लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीकै नेतृत्वले सार्वजनिक रूपमा १०० बुँदे कार्यक्रमको कार्यान्वयनलाई ‘पास मार्क ३२ मान्ने हो भने पास, ४० मान्ने हो भने फेल’ भनेर मूल्याङ्कन गरेको उल्लेख गर्दै उनले सरकारको कार्यसम्पादन कमजोर रहेको दाबी गरे ।
उनले भूमिहीन तथा सुकुम्वासी व्यवस्थापनको विषयलाई सरकारको असफलताको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरे । काठमाडौँ उपत्यकाका नदी किनारका बस्ती हटाउँदा प्रभावित परिवारलाई वैकल्पिक सुरक्षित आवास उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता सरकारले जनाएको भए पनि व्यवहारमा त्यस्तो व्यवस्था हुन नसकेको उनको भनाइ थियो । वस्ती हटाइएका नागरिक अझै समस्यामा रहेको र अहिले उनीहरूलाई पुरानै थातथलो फर्किन सूचना जारी गरिएको उल्लेख गर्दै उनले यसले सरकार आफ्नै प्रतिबद्धताबाट पछि हटेको बताए ।
सरकारले आफ्नै वाचाअनुसार काम गर्न नसक्दा नागरिकको सरकारप्रतिको मात्र होइन, समग्र राज्य प्रणालीप्रतिको विश्वास पनि कमजोर बन्ने उनको भनाइ छ । सार्वजनिक प्रतिबद्धता पूरा नगर्ने प्रवृत्तिले शासनप्रणालीको विश्वसनीयतामै असर पार्ने उनको भनाइ थियो ।
पोखरेलले विद्यार्थी सङ्गठन, ट्रेड युनियन तथा सभा–जुलुसमाथि नियन्त्रण गर्ने सरकारी प्रयास लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रताको भावनाविपरीत रहेको टिप्पणी गरे । विगतमा राज्यको बल प्रयोगलाई राजनीतिक नेतृत्वसँग जोडेर आलोचना गर्नेहरू अहिले त्यस्तै प्रकृतिका घटनामा प्रशासन र सुरक्षा निकायलाई मात्र जिम्मेवार देखाउन खोजिरहेको उनको आरोप छ ।
साम्प्रदायिक रूपमा संवेदनशील विषयमा सरकारले राजनीतिक संवाद, सहमति र सामाजिक सहकार्यलाई प्राथमिकता दिन नसकेको उनको भनाइ थियो । यस्ता विषयमा समयमै पहल गर्नुपर्ने भए पनि सरकार प्रतिपक्ष र सत्तारुढ दलभित्रकै दबाबपछि मात्र सक्रिय भएको उल्लेख गरे । यसले सरकारको निर्णय क्षमता र नेतृत्व क्षमतामाथि समेत प्रश्न उठाएको महासचिव पोखरेलको तर्क छ ।
सरकारले समस्याको समाधानभन्दा पनि विवाद व्यवस्थापनमा कमजोरी देखाएको आरोप लगाउँदै उनले राजनीतिक नेतृत्वले अनुभव, दूरदृष्टि र जिम्मेवारीका साथ निर्णय लिनुपर्ने बताए । शासन सञ्चालनमा अनुभवको अभाव हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारण नागरिकले भोग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । “अनुभव नभएका मानिस शासनमा पुग्दा जनताले दुःख पाउँछन् भन्ने दृष्टान्त अहिलेका घटनाले देखाएका छन्,” उनले भने ।
यसैबिच नेकपा (एमाले) रामेछापको नवनिर्मित सुविधा सम्पन्न जिल्ला पार्टी कार्यालय भवन महासचिव पोखरेलले औपचारिक रुपमा उद्घाटन गरेका छन् । सदरमुकाम मन्थली नगरपालिका–१ आकाशेमा निर्माण गरिएको भवन महासचिव पोखरेलद्धारा उद्घाटन गरिएको हो ।
‘मदन–आश्रित स्मृति भवन’ नाममा रहेको जग्गामा आधुनिक शैलीमा निर्माण गरिएको कार्यालय भवनको शिलान्यास एमालेका तत्कालीन उपमहासचिव विष्णु रिमालले २०८० साल जेठ ३ गते गरेका थिए । करिब तीन वर्षमा निर्माण सम्पन्न भएको भवन सञ्चालनमा आएसँगै जिल्लाका पार्टीका प्रशासनिक, संगठनात्मक तथा प्रशिक्षणसम्बन्धी गतिविधि थप व्यवस्थित नेकपा एमाले रामेछापको भनाइ छ ।
नवनिर्मित भवनमा जिल्ला पार्टी कार्यालय, पदाधिकारी कक्ष, बैठक कक्ष, तालिम हल तथा पार्टीका विभिन्न जनसंगठनका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको छ । एउटै परिसरबाट पार्टीका अधिकांश गतिविधि सञ्चालन गर्न सकिने गरी भवन निर्माण गरिएको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए ।
भवन निर्माणको लागत २ करोड ३० लाख रुपैयाँभन्दा बढी रहेको जनाइएको छ । एमाले रामेछापका उपाध्यक्ष होतराज ढकालका अनुसार केही निर्माण कार्य अझै बाँकी रहेपनि हालसम्म १ करोड ५८ लाख रुपैयाँ आम्दानी भएको छ भने १ करोड ५७ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।
उनले भवन निर्माणका लागि पार्टीका नेता–कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक तथा विभिन्न संस्थागत निकायबाट आर्थिक सहयोग प्राप्त भएको जानकारी दिए ।
एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले आधुनिक सुविधा सम्पन्न आफ्नै कार्यालय भवन निर्माण भएसँगै जिल्ला तहका प्रशासनिक, संगठनात्मक तथा प्रशिक्षण गतिविधि सञ्चालन गर्न थप सहज हुने विश्वास व्यक्त गरे । भवन उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ता, जनप्रतिनिधि र शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।
सरकारमा अनुभवहीन नेतृत्वका कारण जनताले दुःख पाए : महासचिव पोखरेल
23 दिन पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सहयोग बारे नक्कली क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक..
रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैं..
3 घन्टा पहिले
विद्युत चुहावट हुँदा घरमा आगलागि, भित्रका सामान सबै खरान..
रामेछाप । मन्थली नगरपालिका २ कठजोर खोला किनारमा रहेको एकवहादुर भुजेलको घरमा अहिले साँझ साढे सात बजे तिर आगलागि भ..
3 दिन पहिले
बिश्वकै पुरानो सजिवन (मोरिङ्गा) को रुख रामेछापको भटौलीमा..
रामेछाप । पछिल्लो समय तरकारी सगैं मधुमेह, उच्च रक्तचाप लगाएतको रोगका लागि रामबाण औषधिको रुपमा प्रयोग गर्ने अभिया..
3 दिन पहिले
भोटेकोशी बाढीमा १ सय ५७ जनाको शव भेटियो, रामेछापका १९ जना ..
काठमाडौ । चीनको तिव्वत हुदै भोटेकोशीमा बुधबार विहान आएको विनाशकारी बाढीमा परेर मृत्यू हुनेको संख्या १ सय ५७ पुगे..
3 दिन पहिले
रामेछाप उद्योग वाणिज्य संघद्वारा त्रिशुली बाढीजन्य घटन..
रामेछाप । चीनको तिब्बत बाट बुधबार विहान आएको बाढीले नेपालको त्रिशुली नदी वहाव क्षेत्र र आसपासमा गरेको ठुलो जनधनक..
4 दिन पहिले
