रामेछाप । तीन दिन अघी मध्यपहाडि राजमार्गको नबलपुरबाट सुनकोशी नदीमा झरेको कार र त्यसमा रहेका ३ जनाको अवस्था अझै अज्ञात छ । सुनकोशीको बाढीमा परेको उक्त कार घटनास्थलबाट धेरै तल सम्म बगाएको आशंकामा नबलपुर देखि धेरै तल सम्म पनि खोजि जारी राखिएको छ ।
बसको ठक्कर बाट झरेको उक्त कारमा सिन्धुपाल्चोकका निर्माण व्यवसायी सहित ३ जना रहेका थिए । ठक्कर दिएर झरेको कार सुनकोशीको बाढीमा डुबेको थियो ।
सिन्धुली प्रहरीका अनुसार सुनकोशीमा पानीको बहाव तिव्र भएकाले खोजि कार्यमा सफलता पाइएको छैन् । पानी धेरै र तिव्र करेन्ट भएको स्थानमानै कार झरेको थियो । घटनाको जानकारी हुना साथ खुर्कोट स्थित शसस्त्र प्रहरीको विपत उद्धार टिम, प्रहरी, स्थानीय जनप्रतिनिधि, नेपाली सेना लगाएतले खोजि कार्यलाई तिब्रता दिएका थिए । शसस्त्र प्रहरीको गोताखोर लगाएतले विभिन्न साधनको प्रयोग गरी कार र यात्रुको खोजि गरिरहेको प्रहरीले जनाएको छ ।
यसैविच कार वेपत्ताको खवर पछि सिन्धुपाल्चोक र सिन्धुलीबाट घटनास्थलमा पुगेका कारमा सवार यात्रुहरुका आफन्तले मंगलबार खुर्कोट र नबलपुर क्षेत्रमा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ठक्कर दिने बस चालकलाई कारवाहिको साथै खोजी कार्यमा सरकार गम्भिर नभएको आरोप लगाएका छन् । खुर्कोटमा समेत प्रदर्शनका कारण विपी राजमार्ग समेत केहि बेर अवरुद्ध भएको थियो । स्थानीय र प्रदर्शनकारी विच झडपमा एक जना घाईते भएका छन् । स्थानीयको सहयोगमा बिपी राजमार्ग भने खुलाइएको थियो ।
मध्यपहाडि सडक आयोजनाको निर्माणको कामको जिम्मेवारी लिएका निर्माण व्यवसायीले डोजर अपरेटर र हेल्पर लिएर साईड जाने क्रममा उक्त घटना भएको थियो । मध्यपहाडि सडकमा रोकिरहेको कारलाई यात्रुबाहक बसले ठक्कर दिएर सुनकोशी नदीमा झारेको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
