रामेछाप । सरकारले रामेछापको भंगेरीमा निर्माणाधिन पुष्पलाल पार्कलाई बेबारिसे बनाएको छ । पार्क निर्माणका लागि बनाइएको गुरुयोजना अनुसारको निर्माण कार्य रोकेको मात्र हैन, पार्कमा यसअघी करोडौं लगानीमा निर्माण भइसकेका संरचना समेत बेबारिसे बनाइएको छ ।
झण्डै ५५ करोडको लगानी लाग्ने पार्कमा हाल सम्म झण्डै ६ करोडका संरचना निर्माण भईसकेका छन् । सभाहल, सौचालय, पुस्तकालय, कार्यालय र पालेघर समेतको निर्माण पुरा भएपनि ति संरचना नासिने अवस्थामा छन् । पार्कमा घेरा बेरा पुरा नभएकोले निर्माण भएका संरचनामा जो सुकैको सहज प्रवेश भएको र त्यसो हुदाँ भवनहरुका विभिन्न भागमा क्षति पुगेको स्थानीयले वताएका छन् ।
सरकारले शहरी विकास मन्त्रालयको नाममा ५० रोपनी जग्गा अधिग्रहण गरी २०७६ साल देखि पार्क निर्माणको काम थालेको थियो । पार्क भित्र पुष्पलाल प्रतिष्ठानको ५ रोपनी जग्गा समेत समेटिएको छ । प्रतिष्ठानको जग्गामा समेत प्रदेश सरकारले एउटा भवन निर्माण गरेको छ ।
निर्माण थाले यता हरेक बर्ष थोरै थोरै पैसा बिनीयोजन गरेर सरकारले उक्त पार्कलाई प्राथमिकता बाट बाहिर पार्दै आएको थियो । कम्युनिष्टका संस्थापक नेता पुष्पलालको पार्क निर्माणमा कम्युनिष्टकै सरकारले समेत उचित रकम विनीयोजन नगरेको तर हरेक बर्ष भंगेरी आउदा भने पार्कलाई राजनीतिक तिर्थस्थल बनाउने कुरा गरेर झुक्याएको आरोप स्थानीयको छ । यस बर्ष पुष्पलाल स्मृति दिवसका दिन भंगेरी पुगेका नेकपा एमालेका केन्द्रीय सदस्य माधवप्रसाद ढुंगेलले समेत सरकारमा आफै हुदाँ पनि पुष्पलाल पार्क निर्माणका लागि उचित ध्यान दिन नसकेकोमा कमजोरी स्वीकारेका थिए ।
गत बर्ष एमालेका तर्फबाट केपी ओली प्रधानमन्त्री र विष्णुप्रसाद पौडेल अर्थ मन्त्री थिए । तर पार्कमा एक पैसा पनि विनीयोजन भएन । यस बर्ष रास्वपाको सरकारले बजेट निर्माण गरेको हाे । यस बर्ष पनि साे पार्क प्राथमिकतामा परेन् । पार्क निर्माणकाे थालनी भने तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र शहरी विकास मन्त्री अर्जुन नरसिह केसीकाे पालामा भएकाे थियाे । पुष्पलाल सगै सिन्धुलीकाे दुम्जामा बीपी पार्क पनि थालिएकाे थियाे । बरु बीपी पार्कमा भने उल्लेख्य काम भएको छ ।
पूर्वाधार विकास मन्त्रालय अन्तरगतको सघन शहरी विकास तथा भवन निर्माण आयोजना रामेछापबाट निर्माणको काम थालिएको उक्त पार्क हाल कुनै निकायको संरक्षण वा रेखदेखमा छैन् । आयोजनाले भएका संरचनाको संरक्षणका लागि निर्माण पुरा भएका भवनहरु रामेछाप नगरपालिकालाई हस्तान्तरण गर्ने प्रश्ताव गरेको थियो । तर नगरपालिकाले पार्कको निर्माण पुरा भएपछि मात्र सरकारको निर्णय बमोजिम स्वामित्व लिने या नलिने बारेमा निर्णय गर्ने जनाएर तत्कालका लागि पार्कका कुनै पनि संरचना जिम्मा लिन अस्विकार गरेको छ । उक्त संरचनाको रेखदेखका लागि शघन शहरी तथा भवन निर्माण आयोजनाले समेत कुनै जनशक्ति खटाएको छैन् ।
पार्क भित्र निर्माण पुरा भएका भवनहरुमा स्थानीय र केहि राजनीतिक दलका कार्यकर्ताको रजाई छ । भवन निर्माण सकिएको ५ बर्ष वित्दा पनि त्यसको उपयोग हुन सकेको छैन् । पार्क भित्र जो कोहि जाने, भवनको ढोका खोल्ने र आफु खुसी प्रयोग गर्ने क्रम बढेको छ । कहिले पार्टीका कार्यक्रम त कहिले गोठालाहरुको खेल्ने थलोको रुपमा पार्क भित्रको सभाहल प्रयोग हुने गरेको छ ।
‘सभाहल मात्र हैन, यो जग्गामा रहेका बोट विरुवा र अन्य भवनको बेथिति भयो ’ स्थानीय गौतम श्रेष्ठ भन्छन् – सरकारले अधिग्रहण गरेर लिएको जग्गामा रहेका बोट विरुवा नष्ट हुने क्रम बढेको छ । पार्क क्षेत्रमा रहेका रुख विरुवा काट्ने र क्षति पु¥याउनेलाई कुनै निकायले कारवाहिको दायरामा नल्याएकोले थप क्षति हुन थालेकोमा उनले चिन्ता प्रकट गरे । पार्क क्षेत्रका लागि सरकारले अधिग्रहरण गरेको करिव ५० रोपनी जग्गामा रहेका जुनार सुन्तला, आँप नास्पाति लगाएतका फलफुल र अन्य रुख विरुवा नासिने क्रममा छन् । उक्त जग्गा १० बर्ष अघी सरकारले अधिग्रहण गरेर लिएको हो ।
