रामेछाप । निर्माण कार्यमा संतोषजनक प्रगति नभएपछि पुष्पलाल मार्गको रामेछाप – दोलखा सडक खण्डको किर्ने स्थित सडक निर्माणको ठेक्का तोडिने भएको छ ।
शुक्रबार सडक अनुगमन गर्न किर्ने पुगेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललले तत्काल उक्त निर्माण कार्यको ठेक्का संझौता अन्त्य गर्ने गरी कारवाहि अघी बढाउन निर्देशन दिएपछि सडक डिभिजन कार्यालय खुर्कोटले उक्त ठेक्का संझौता अन्त्य गरी निर्माण व्यवसायी फर्मलाई कालोसूचिमा राख्ने प्रकृया अघी बढाएको हो ।

२०८० साल असोजको बाढीले बगाएको किर्ने क्षेत्रको करिव १ हजार २ सय मिटर सडक पूननिर्माणका लागि सडक विभागले डेढ बर्ष अघी ठेक्का लगाएको थियो । २ बर्षमा सम्पन्न गर्ने गरी ठेक्का संझौता भए पनि निर्माण व्यवसायीले हाल सम्म जम्मा १२ प्रतिशत मात्र कार्य गरेको पाइएपछि मन्त्री लम्सालले अनुगमनकै क्रममा तत्काल कारवाहि गर्न निर्देशन दिएका थिए ।
सडक डिभिजन कार्यालय खुर्कोटका अनुसार किर्ने क्षेत्रको सडक पूननिर्माणका लागि जोगीमारा–सिद्धान्त–वाईवा को संयुक्त उपक्रमलाई ठेक्का परेको थियो । उक्त उपक्रमले ( जेभी) झण्डै ४० करोडमा सो सडकको पूननिर्माणको काम पाएको हो ।
किर्ने क्षेत्रमा तामाकोशी किनारबाट सडक निर्माण गरिएको थियो । २०८० को बाढीले सडक कटान गरेपछि दोलखा र रामेछाप सडक सम्पर्क विच्छेद बनेको थियो । विपी राजमार्ग अधिकांश स्थानमा बगाएकोले तत्कालका लागि रामेछापबासीलाई काठमाडौं जान आउन र दोलखाबासीलाई तराई तर्फको यात्राका लागि किर्नेको सडक खिम्ती जलविद्युत आयोजनाको क्ष्ँेत्र भित्र बाट अस्थायी रुपमा संचालन गर्ने गरी खुलाइएको थियो । हाल पनि सोहि अस्थायी सडकमै आवागमन संचालन भइरहेको छ ।

तर किर्ने क्षेत्रमा रामेछाप तर्फबाट प्रवेश गर्ने विन्दुमै बारम्बार तामाकोशीको बाढीले सडक अवरुद्ध पार्ने गरेको छ । तीन दिन अघी पनि उक्त सडक बाढीले बगाएपछि केहि घण्टा यातायात अवरुद्ध भएको थियो । हाल उच्च जोखिमका साथ साँघुरो सडकबाट यातायात चलाइएको छ ।
तामाकोशीको बाढीबाट सडकलाई जोगाई स्थायी रुपमा आवागमन गराउन सडक विभागले क्रकिट पर्खाल ( शेरवाल) लगाएर सडक उकास गर्ने योजना कार्यान्वयनमा ल्याएको थियो । तर उक्त कार्य ज्यादै धिमा गतिमा भएकोले कारवहि गर्नुपर्ने निष्कर्षमा मन्त्री र अधिकारीहरु पुगेको वताइएको छ ।
