रामेछाप । साहित्यकार तथा बरिष्ट समाजसेवि स्वर्गीय जगदीश घिमिरे हुर्के बढेको रामेछापको मन्थली स्थित घर सरकारले प्रबलिकरण गर्ने भएको छ । उक्त घर सरकारले २०४६ सालमा घिमिरे परिवारबाट अधिग्रहण गरी लिएको थियो ।
चालु आर्थिक बर्षमा उक्त घर प्रवलीकरणका लागि सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापले खर्च गर्ने गरी १ करोड बजेट बिनीयोजन भएको छ । गत बर्ष पनि उक्त घर प्रवलिकरण गर्नका लागि सरकारले बजेट विनीयोजन गरेको थियो । तर जेनजी आन्दोलनका कारण बजेट सरकारले फिर्ता गरेकाले मर्मत संभार हुन सकेकाे थिएन । उक्त घर हाल सघन शहरी तथा भवन निर्माण आयोजनाको परिसरमा रहेको छ ।
२०४५ साल पछि जिल्ला सदरमुकाम आउदा जिल्ला सदरमुकामको मुख्यालयको रुपमा राष्ट्रिय झण्डा उक्त घरमा गाडिएको थियो । पछि सोहि घरमा राष्ट्रिय बाणिज्य बैंक मन्थली शाखाको स्थापना गरिएको थियो । बहुदलिय व्यवस्था आएपछि पहिलो जिल्ला विकास समितिका सभापति स्वर्गीय शिवबहादुर खड्काले उक्त घरमा ५ बर्ष आवास वनाएका थिए ।
२०३४ सालमा स्वर्गीय घिमिरेका पिता ईन्द्रप्रसाद ढुंगेलले उक्त घरको निर्माण गरेका थिए । झिंगटीको छाना र दुवै तिर बरण्डा रहेको उक्त घर सरकारले जिल्ला सदरमुकाम मन्थलीमा ल्याउदा अधिग्रहण गरेका १३ वटा घर मध्ये बाँकी रहेको एक मात्र घर हो । उक्त घरमा घिमिरे जन्मेको भने हैन् । घिमिरेको हाल मन्थली नगरपालिका ६ मा पर्ने मन्थली गाउँमा जन्म भएको थियो । अहिले सदरमुकाम भएको मन्थली चाँहि त्यस बेला मन्थलीबेशीं भनेर चिनिने गरेको थियो । घिमिरेको परिवारले खेति र जाडो मौसममा बेशीको घर र गर्मी मौसममा गाउँको घरमा वसोवास गर्ने गरेका थिए ।

पुरानो शैलीको उक्त घरमा लगाइएको झिंगटीको छाना उप्किएर जिर्ण भएपछि २०७० सालमा मन्थली नगर विकास समितिका अध्यक्ष लेखवहादुर कार्कीको कार्यकालमा उक्त घरमा जस्ताको छाना लगाउनुको साथै मर्मत संभार गरिएको थियो ।
२०४५ र २०७२ सालको विनासकारी भूकम्प थेगेको उक्त घरमा अहिले केहि स्थानमा धाँजा फाँटेको देखिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाले उक्त घरलाई पुरानै स्वरुपमा प्रबलिकरण गरेर नमुनाको रुपमा राख्ने गरी आवश्यक प्रकृया थाल्ने जनाएको छ ।
साहित्यकार तथा समाजसेवि जगदीश घिमिरेको मृत्यू भएपछि उनका परिवारजनले स्वर्गीय घिमिरेको स्मृतिमा उक्त घरलाई चिरकाल सम्म राख्नका लागि सरकार संग माग गरेका थिए । तर नगर विकास समितिले निशूल्क घरजग्गा दिन नमिल्ने कानुन भएकाले उक्त घर सरकारी स्वामित्वमै रहेको छ ।
स्वर्गीय घिमिरेले रामेछापमा छेउ लागेका बर्गको सामाजिक उत्थानका लागि सोहि घरमा २०४० सालमा तामाकोशी सेवा समिति नाममा सामाजिक संस्था स्थापना गरेर कृषि, शिक्षा, सिंचाई, खानेपानी, सौचालय, सहकारी लगाएतको क्षेत्रमा काम गरेका थिए । हाल तामाकोशी सेवा समितिले आफ्नै नाममा जग्गा खरिद गरेर संस्था संचालन गर्दै आएको छ ।
