रामेछाप । सरकारले भारत बाट केरा आयातमा रोक लगाएपछि नेपाली बजारमा केराको भाउ उकालो लागिरहेको बेला रामेछापको मन्थली नगरपालिका ६ कुनौरीमा गरिएको व्यवसायिक केरा खेतिले सवैको ध्यान खिचेको छ ।
तामाकोशी किनारको फाँट कुनौरीमा अरु किसानले परम्परागत धान, मकै र गहँु लगाएका छन् । तर एक जना किसानले भने व्यवसायिक केरा खेतिमा आफ्नो लगानी र पसिना खर्चेका छन् । बजार भाउ बढेका बेला उनको खेतमा लगाइएका केरा धमाधम उत्पादन दिने अवस्थामा पुगेका छन् ।
कुनौरीका किसान कुबेर दाहालले आफ्नो झण्डै ८ रोपनी जग्गामा गत बर्ष केराको विरुवा रोपेका हुन् । कुल १ हजार ५ सय विरुवामा लगभग सवै विरुवा हुर्केर उत्पादन दिने अवस्थामा पुगेको दाहालले वताए । अहिले अधिकांश केरा पसाएका छन् । केहि घरी केरा बजारमा पुगिसकेको र केहि अव बजारमा पठाउने तयारी अवस्थामा छन् ।

दाहालका अनुसार केरा खेतिका लागि सुरु देखि हाल सम्म करिव ६ लाख लगानी पुगेको छ । मल, माटो र समय समयमा रोग किराको निदानका लागि एकजना कामदारले केराघारी छोडेका छैनन् । गाईभैंसीको गोबरमल र बिच विचमा खनजोत केराघारी भित्र भइरहेको हुन्छ । त्यहि भएर पनि उनको केराघारीमा लोभलाग्दा घरी देखिएका छन् ।
दाहालले लगाएको केरा जी–९ जातको हो । यो अधिकांशले रुचाउने जातमा पर्छ । भारतीय बजारबाट आउने केरा भन्दा यो फरक खालको केरा हो । स्थानीय मालभोग भन्दा केहि फरक भएपनि यसको स्वाद रुचाउने उपभोक्ता नेपाली बजारमा धेरै रहेका छन् ।

रामेछापको सदरमुकाममा मन्थली बजारमा हाल प्रति कोसा १४ रुपैंयाले केरा विक्री भइरहेको वताएका छन् । केराघारीबाट झण्डै ३ किलोमिटर टाढा रहेको मन्थली बजारमा सहजै उनको उत्पादन बिक्री हुने अवस्था छ । काठमाडौंमा यहि जातको केरा प्रतिकोसा २० देखि २२ रुपैंयामा विक्री भइरहेको छ ।
दाहालका अनुसार पहिलो पटक ट्रायलको रुपमा गरिएको केरा खेतिले राम्रो उत्पादन दिएकोले अव अरु जग्गामा समेत यसको विस्तार गर्ने योजना रहेको छ । यो बर्ष झण्डै १० देखि १२ लाख रुपैयाँ केरा विक्री बाट आउने अनुमान उनले गरेका छन् । जसमध्ये करिव डेढ लाखको केरा विक्री भइसेकेको छ ।
कुनौरीको केरा घारीमा प्रसस्तै विरुवा निस्केका छन् । तर उनले हाल सम्म विरुवा बिक्री गरेका छैनन् । यो सिजनको केरा विक्री गरेपछि विरुवा विक्री गर्ने या थप जग्गामा आफै खेति विस्तार गर्ने योजना गर्ने भन्ने विषयमा निर्णय लिने उनले वताए । रामेछापको मन्थली आसपास यसअघी थोरै जग्गामा केरा खेति गरीएको भएपनि यति धेरै केरा एकै साथ अरु किसानले लगाएका थिएनन् ।

