रामेछाप । रामेछाप विमानस्थललाई स्थायी रुपमा संचालन गरी पर्यटन प्रबद्र्धनका लागि माग गर्दै आएका रामेछापेलीले होटल व्यवसायमा लगानी बढाउदै लगेका छन् ।

रामेछाप हुदै सोलुको लुक्ला विमानस्थल तर्फ केहि बर्ष देखि उडान संचालन हुन थालेपछि पर्यटक लक्षित होटल व्यवसायमा वृद्धि हुदै आएको हो । पहिले देखि होटल तथा लज संचालन गर्ने व्यवसायीले आफ्नो व्यवसायलाई परिकृत र थप लगानी गरिरहेका छन् भने नयाँ नयाँ रिसोर्टहरु खुल्ने क्रम पनि सुरु भएको छ ।

व्यवसायीहरु लगानी बढाउदै जाँदा सरकारले भने रामेछाप विमानस्थलबाट स्थायी उडानको लागि चासो दिएको छैन् । बर्षमा २ सिजन हुने लुक्ला तर्फको उडान बाहेक रामेछाप विमानस्थल अरु बेलामा बन्द हुने गरेको छ । जिल्लाबासीले भने लुक्लाको उडान सधैं र नियमित रुपमा रामेछापबाटै हुनु पर्ने माग गर्दै आएका छन् । त्यसो भयो भने रामेछापमा पर्यटकहरुका लागि आकर्षक होटल व्यवसाय संचालनका लागि लगानी गर्ने वातावरण बन्ने उनीहरुको धारणा छ ।

लुक्लाको लागि हुने उडानहरु मौसमका कारण रद्ध भयो भने मात्र रामेछापको मन्थलीमा पर्यटकहरुले होटल तथा लजहरु भरिभराउ हुने गर्छन् । अघीपछि काठमाडौंबाट सिधै विमानस्थल लगेर पर्यटकहरुलाई लुक्ला उडाउने गरिएको छ । सिमित पर्यटकहरुले मात्र रामेछापको मन्थलीमा रहेका रिसोर्ट, लज बुक गर्ने गर्छन् । लुक्ला जाने आधा पर्यटकहरु काठमाडौंबाट सिधै आएर उडान गर्ने, बाँकि आधामा पनि झण्डै ७५ प्रतिशत सिन्धुलीको मुलकोट र खुर्कोटमा बसेर उडान भेटन आउने र थोरै मात्र मन्थलीमै बसेर लुक्ला तर्फ जाने गरेका छन् ।

रामेछापको विमानस्थलबाट हुने उडानका लागि यात्रा व्यवस्थापन गर्दै आएका काठमाडौंका ट्राभल एजेन्सीहरुले रामेछापमा पर्यटकहरुका लागि कुनै पनि सुविधा नभएको भन्दै भ्रम छरीरहेको गुनासो होटल व्यवसायीहरु गर्छन् । होटल व्यवसायी संघ रामेछपका अध्यक्ष गणेश थपलिया भन्छन् – मन्थलीमा रहेका होटल तथा लजहरुले पर्यटकहरुलाई अन्यत्रकै जस्तो सुविधा दिन सक्षम छन् । उनले एकोहोरो सुविधा छैन् भनेर भनिरहनु भन्दा पनि पर्यटक ल्याएर यस्तो सुविधा थप्न सुझाव दिएमा सवै व्यवसायीले आफ्नो सेवामा गुणस्तरता ल्याउने वातावरण वन्ने वताए ।

यहि कोलाहलका विच पछिल्ला बर्षहरुमा मन्थलीमा २ वटा ठुला लगनीका रिसोर्ट खुलेका छन् । मन्थलीको फ्रिडम र मन्थली ईनले धेरै पर्यटकहरुलाई राख्न थालेको छ । आफ्नो वेबसाईड मार्फत ति रिसोर्टहरुले बुकिङ पनि लिईरहेका छन् । होटल एल्लो जिएस, स्नेहा, लालु होटल, सगरमाथा, एसएस ईभरग्रीन, होटल पाहुनाघर , काष्ठमण्डप, गाल्वालि, सैलुङ्गेश्वरी, एसएस , मनकामना, भार्गवि, लालिगुराँस, होटल लखनपुर, होटल चुचुरे, बेताली, नमोबुद्ध लगाएतका होटलले पाहुनाहरुलाई सेवा दिइरहेका छन् । तिनले खाना तथा बासको गुणस्तरतामा वृद्धि गर्दै लगेका छन् । त्यसबाहेक केहि हाेमस्टे ले पनि सेवा दिईरहेका छन् । 

यसैविच पछिल्ला दिनमा मन्थलीमा एकै साथ ५ करोड भन्दा धेरै लगानीमा विमानस्थल नजिकै सुविधा सम्पन्न होटल खुल्ने तयारीमा छ । ३२ कोठा क्षमता भएको उक्त होटलले आउदो पर्यटकिय सिजन अर्थात दशै आसपासबाट सेवा संचालनमा ल्याउन थालेको हो । विमानस्थल नजिकै रहेको उक्त होटलले विदेशी पर्यटकहरुलाई लक्ष्य गरेरै लगानी गरिरहेको छ ।