रामेछाप । रामेछापको  मन्थली नगरपालिका–१ मच्छेडाँडीमा गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा स्कुटर दुर्घटना भएको छ । दुर्घटनामा परेको स्कुटरमा सवार २ जना घाइते भएका छन् भने ठक्करले मृग मरेको छ ।

सोमबार बिहान मन्थली–रामेछाप सडक खण्ड अन्तर्गत मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटरमा सडक सगै रहेको जंगलबाट निस्केको मृग ठोक्किँदा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका–४ सालुका १८ वर्षीय चालक सञ्जीव तामाङ घाइते भएका छन्। उनको बायाँ हातको कुहिनो र दुवै खुट्टामा चोट लागेको छ। उनलाई मन्थली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

स्कुटरमा पछाडि सवार मन्थली नगरपालिका–४ का १० वर्षीय जेसीज तामाङको पेट र टाउकोमा चोट लागेको छ। उनको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।