रामेछाप । चालु आर्थिक बर्षका लागि बार्षिय लक्ष्य र विनीयोजन भएको बजेट खर्च गर्नमा रामेछाप नगरपालिका जिल्लाका अन्य पालिका भन्दा पछि परेको छ । नगरपालिकामा यस बर्ष पूँजिगत खर्च निराशाजनक देखिएको छ ।

अन्य पालिकाहरुमा सरदर बार्षिक लक्ष्यको ८० प्रतिशत सम्म खर्च भएको विवरण सार्वजनिक भएका बेला रामेछाप नगरपालिकाको भने बार्षिक लक्ष्यको ६८ दशमलव ७ प्रतिशत मात्र खर्च गर्न सकेको छ । त्यसमा पनि पूँजिगत खर्चको अवस्था निराशाजनक रहेको छ । बार्षिक वित्तिय लक्ष्यलाई चालु खर्चले उक्त विन्दु सम्म पुर्याएको हो ।

आईतबार सार्वजनिक गरिएको बार्षिक वित्तिय प्रगतिको विवरणमा चालु आर्थिक बर्ष २०८२।०८३ का लागि पूँजिगत खर्च तर्फ ३३ करोड ७३ लाख ४२ हजार बजेट नगरसभाबाट स्वीकृत भएकोमा आर्थिक बर्षको अन्त्य सम्म जम्मा १५ करोड ९ लाख २३ हजार ६४५ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यो रकम बार्षिक अनुमानित व्ययको करिव २२ दशमलव ४ प्रतिशत मात्र हो ।

पूँजिगत खर्चमा जिल्लामै सबैभन्दा कम खर्च गर्ने रामेछाप नगरपालिकाले भने चालु तर्फको खर्चमा लक्ष्यको ६८ दशमलव ७० प्रतिशत खर्च गरेको छ । चालु खर्चका लागि नगरसभाले ८५ करोड ३६ लाख ८७ हजार ८ सय ७१ रुपैंया खर्च हुने अनुमान सहित बजेट तथा कार्यक्रम स्वीकृत गरेकोमा उक्त रकम मध्ये ५८ करोड ६५ लाख १० हजार ७ सय ३२ रुपैयाँ खर्च गरेको थियो ।

नगरपालिकाले बार्षिक आय व्ययको विवरण सहित चालु आर्थिक बर्षमा भएका विभिन्न क्रियाकलापहरुको बारेमा पनि सार्वजनिक सुनुवाईमा जानकारी गराएको छ । प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले नगरपालिकाले हासिल गरेका उपलव्धि हरुको फेहरिस्त कार्यक्रममा सुनाएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाबाट भए गरेका कार्य र कमिकमजोरीका बारेमा विभिन्न प्रश्नकर्ताले सोधेका सवालहरुको नगरप्रमुख लबश्री न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी र विषयगत शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।