रामेछाप । घर नजिकैको लिखु नदीको पानी बाट १ सय ५५ मेघावाट विजुली उत्पादन भएर केन्द्रीय प्रशासण लाईनमा जोड्दा सोलुको लिखु पिके गाउँपालिकामा पर्ने भकान्जेबासी भने लघुजलविद्युतको धिपधिपे वत्तिको भरमा वसेका छन् । लिखु बाट विजुली निकालेर काठमाडौं लैजाने आयोजनाले स्थानीयलाई उज्यालो दिएको छैन् ।
आफ्नै प्रयासले स्थानीय ओडारेखोलाबाट ४० किलोवाटको उक्त लघुजलविद्युत आयोजना त्यति भरलाग्दो छैन् । छ बर्ष अघी बनाएको उक्त योजनाले आधा क्षमतामा मात्र उत्पादन दिने गरेको छ । चैतमा आएको चट्यांगले हानेर विग्रीएको आयोजना १ महिना ६ दिन पछि बल्ल संचालनमा आएको छ । त्यसबेला भकान्जेका १ सय ९८ परिवार उनीहरु टुकी बालेर बसे । मोवाईल चलेन । परिवारका सदस्य संग बाहिरी संम्पर्क टुट्यो ।
सोलुको लिखु पिके गाउँपालिकाको छिरिङ्गखर्कमा नेपाल टेलिकमको रिपिटर स्टेशन ( टावर ) छ । उक्त टावरका लागि पनि आयोजनाले विद्युत दिएको छैन् । टेलिकमले सोलारको भरमा उक्त टावर संचालन गर्दै आएको छ । ‘अग्लो डाडाँमा प्राय बादलले छोप्छ, घाम लाग्न पाउदैन, त्याहाँ घाम लागेन भने हाम्रो मोवाईल चल्दैन्’ भकान्जेका माधव वस्नेतले भने । आयोजनाले संचार सम्पर्कका लागि समेत टावरमा विजुली नदिएकोमा स्थानीयबासिन्दाहरु रुष्ट छन् ।
‘आज पनि वत्ति छैन्, मोवाईलको टावर कहिले दिन्छ, कहिले दिदैन्’ शनिबार अपरान्ह टेलिफोनमा कुरा गर्दै बस्नेतले भने – हिजो राती देखि विग्रिएको वत्ति फेरी झुल्केको छैन् । मोवाईल अफ हुन थालेका छन् । वत्ति त गकै छ, अव फोन पनि जान्छ ।
लिखु जलविद्युत आयोजनामा लगानी गर्ने एमभि दुगड समूहले सुरुमा स्थानीयलाई रोजगारी र विजुलीको नाममा नराम्रो संग लोभ्यायो । एक घर एक रोजगारी र निशूूल्क विजुली भन्दै उनीहरुको स्वामित्वमा रहेको जग्गा कौडीको भाउमा पास गरि लियो । ‘हामीले वत्ति पनि सित्तै पाईने अनि रोजगारी पनि गाउँमै पाईने आशामा जग्गा उसैले भनेको मोलमा जग्गा दियौं ’ वस्नेतले भने – आयोजना संचालन भएर व्यवसायीक रुपमा विजुली बेचेको पनि ३ बर्ष वितिसकेको छ, अहिले सम्म न हामीलाई बत्ति दिन्छ, न रोजगारी ।
एमभि दुगडको स्थानीय मुख्यालय भएको वजार सोलुको किन्जामा पनि लघुजलविद्युतबाटै लाईन वितरण भएको छ । चरी खोलाको पानीबाट निकालेको विजुली त्यति भरपर्दो छैन् । किन्जाका बासिन्दाले आयोजनालाई वत्ति माग गर्दा पाएका छैनन् । भकान्जे अझै टाढा पर्छ के दिन्थ्यो ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाईनको ढिलासुस्तीले पनि स्थानीयलाई सताएको छ । ‘बत्ति बाल्छु भनेको पनि एक बर्ष भयो ’ स्थानीय काजिवहादुर वस्नेत भन्छन् – तर आज सम्म वत्ति बलेको छैन् । पोल गाड्ने, तार टाँग्ने मात्र हैन्, घर घरमा मिटर ठोकिसक्दा पनि विजुली नजोडेको देख्खा स्थानीयहरुलाई सरकारको अनुभुति भएको छैन् ।
लिखु १, लिखु २ र लिखु ए गरी तीनबटा जलविद्युत आयोजनाबाट उत्पादन भएको विजुली व्यवसायिक विक्री भइरहेको छ । प्रभावित क्षेत्रका बासिन्दाले सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रम गर्न र हाल सम्म भएका कामको लगानी पारदर्सिताका लागि सार्वजनिकिकरण गर्न माग गर्दा जलविद्युत आयोजनाले प्रहरी प्रशासन बोलाएर केहि दिन अघी किन्जामा गोली चलायो । मानिस समातेर मुद्धा लगायो । ‘बरु मानिस मर्ला तर दुगडले न सामाजिक उत्तरदायित्वको काम गर्ने भयो न आयोजनाको शेयर अनि रोजगारी दिने भयो ’ रामेछापको उमाकुण्ड १ गुम्देलका राजेन्द्र घिमिरेले भने । गुम्देलका केहि भाग जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्रमा पर्छन् ।
