रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक बर्षको लागि स्वीकृत पूँजिगत बजेटको ७२ प्रतिशत खर्च गरेको छ । चालु तर्फ भने ९० प्रतिशत बजेट खर्च भएको मन्थली नगरपालिकाले जनाएको छ ।
शुक्रबार मन्थलीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले चालु आर्थिक बर्षका लागि नगरसभाबाट स्वीकृत १ अर्व ४ करोड ६५ लाख ६४ हजार बार्षिक बजेटमा ८९ करोड ४३ लाख ७ हजार रुपैयाँ खर्च भई कुल वित्तिय प्रगति ८५ प्रतिशत हासिल भएको जानकारी गराए ।
मन्थली नगरपालिकाले बार्षिक स्वीकृत बजेट पुरै खर्च गर्न नसकेपछि आय तर्फ भने लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको छ । नगरपालिकाले बार्षिक आन्तरिक आय ४ करोड २३ लाख ५५ हजार हुने अनुमान गरेकोमा यो आर्थिक बर्षमा ४ करोड २८ लाख १५ हजार आन्तरिक आय गर्न सफल भएको पनि सापकोटाले वताए ।
सार्वजनिक सुनुवाईमा नगरपालिकाबाट चालु आर्थिक बर्षमा निर्माण गरिएका प्रमुख पूर्वाधारहरु, सामाजिक सुरक्षा अन्तरगतका कार्यक्रमहरु, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा गरिएका उपलव्धिहरुलाई प्रश्तुत गरिएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख लब श्रेष्ठ लगाएतले सहभागिबाट उठाइएका विभिन्न सवालहरुको बारेमा प्रष्ट पारेका थिए ।
