रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका र स्वेतगंगा हाईड्रोपावर लिमिटेडका विच झण्डै दुई साता देखि चल्दै आएको ( लिखु ३ जलविद्युत आयोजना ) विवाद तत्कालका लागि अन्त्य भएको छ ।
गाउँपालिकाले धोवि देखि सिरीसे जाने सडकमा पूर्वाधार निर्माण गर्ने क्रममा जलविद्युत आयोजनाको पेनस्टक पाईपमा क्षति पुगेको भन्दै आयोजनाका कर्मचारीले २ नम्बर वडा अध्यक्ष संतोष पौडेल लगाएत माथि दुव्र्यवहार गरेपछि उक्त विषयले विवादको रुप लिएको थियो । जलविद्युत आयोजनाका कर्मचारीले गाउँसभामा जान तयार भएका पौडेल लगाएतलाई प्रहरी चौकी सिरीसे पु¥याएर दुव्र्यवहादर गरेका थिए । पौडेलले आयोजना प्रमुख सजन श्रेष्ठ र प्रशासन प्रमुख रुचि जोशी विरुद्ध कारवाहिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दर्ता गराएका थिए ।
सोमबार लिखु तामाकोशी गाउँपालिकामा स्थानीय प्रशासन समेतका प्रतिनिधि समेत सहभागिता रहेको बैठकमा उक्त दिन भएको विवादमा जलविद्युत आयोजनाका तर्फबाट कमजोरी स्वीकार गर्ने निर्णय भएको छ । निर्णयमा जनप्रतिनिधिले उक्त दिनको विषयलाई लिएर गरिएका उजुरीहरु सम्बन्धित निकायले कार्यान्वय नगर्ने र उक्त दिनको विषयलाई लिएर एकआपसमा मनमुटाव नगर्ने र आपसमा सहमति र समन्वय गरेर कार्य गर्ने उल्लेख छ ।
विवादको मुल विषय जलविद्युत आयोजनाको पेनस्टक पाईप नजिक निर्माण गर्नुपर्ने खहरे खोलाको पानीलाई सेतिखोलामा निकाश दिने कार्यका सन्दर्भमा गाउँपालिकाको प्राविधिक टोलीले दिएको प्राविधिक प्रतिवेदन बमोजिम १ लाख सम्मको काम गर्नुपर्ने भएमा जलविद्युत आयोजनाको तर्फबाट तत्काल गर्ने र त्यो भन्दा बढी रकम लाग्ने भएको खण्डमा पालिका र आयोजनाले आधा आधा लागत साझेदारीमा गर्ने निर्णय भएको लिखु तामकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले जनाएका छन् ।
