रामेछाप । रामेछापको मन्थली नगरपालिकाले बालबालिकाको मनोरञ्जनका लागि वडा नम्बर २ भुत्याहा खोला किनारमा बालउद्यानको निर्माण गरेको छ । उक्त उद्यानको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अव पार्कमा दुबो रोप्न र फुलहरु रोप्ने काम बाँकी रहेको छ ।

केहि महिना अघी मात्र बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भएको मन्थली नगरपालिकाले बालबालिकाहरुलाई लक्षित गरेर उक्त उद्यान निर्माण गरेको हो । उद्यान भित्र बालबालिकाहरुलाई विभिन्न मनोरञ्जन दिने उद्धेश्यले सोहि बमोजिमका सामाग्रीहरुको व्यवस्थापन समेत गरिएको छ । मन्थली पुल नजिक निर्माण भएको उक्त उद्यान भित्र खुला व्यायम समेत गर्न सकिने गरी व्यायमका विभिन्न सामाग्रीहरु जडान गरिएका छन् ।

मन्थली नगरपालिकाको करिव ८३ लाखको लागतमा उक्त उद्यान निर्माण भएको हो । वडा अध्यक्ष सुरेन्द्र कार्कीका अनुसार उद्यान भित्र अझै धेरै काम गर्न र क्षेत्र विस्तार गर्न बाँकी रहेको वताए । तामाकोशी किनारमा निर्मित उक्त उद्यानले मन्थलीका बालबालिकाहरुलाई भरपुर मनोरञ्जन गराउने लक्ष्य नगरपालिकाले राखेको छ । आगामी आर्थिक बर्षको बजेटमा मन्थलीमा उद्यान निर्माणका लागि २ करोड रुपैयाँ विनीयोजन गरेको जनाइएको छ । मन्थलीमा हाल सम्म बालबालिका लक्षित उद्यान थिएन ।