रामेछाप । शुक्रबार विहान तामाकोशीको बाढीले बगाएको तामाकोशी मरिन एड्भेन्चर प्रालिको जेटवोट करिव ८ किलोमिटर तल रजगाउँ नजिक भेटिएको छ । नदीको विचमा गाडिएको अवस्थमा उक्त जेटवोट फेला पारिएको हो ।

जेटवोट बगाएको सूचना पाउना साथ कम्पनीले आफ्ना प्राविधिक कर्मचारी, आसपासका बासिन्दा, माझी समूदाय र खुर्कोट स्थित शसस्त्र प्रहरीको गोताखोर झिकाएर खोजि कार्य तिव्र पारेको थियो । नदीमा गाडिएको अवस्थाामा भेटिएको जेटवोटलाई निकालेर किनारमा ल्याउन झण्डै १० घण्टा लागेको थियो ।

गोताखोर, राफ्टिङ, डोरी, एक्साभेटर लगाएतको सहयोगमा जेटवोट निकालिएको छ । बाढीमा बगेको उक्त जेटवोट क्षतिग्रस्त अवस्थामा रहेकोले कति क्षति भयो भन्ने विषयमा यकिन भैसकेको छैन् । उक्त जेटवोट तामाकोशी नदीमा जलयात्राका लागि केहि महिना अघी देखि संचालन हुदै आएको थियो । जेट ईन्जिन जडित उक्त जेटवोट करिव ७० लाख मूल्य बराबरको भएको कम्पनीले जनाएको छ । तामाकोशीमा एउटा मात्र जेटवोट संचालनमा थियो ।

तामााकोशीमा पानीको बहाव बढेपछि उक्त जेटवोटलाई नदिबाट निकालेर सुरक्षित राख्ने तयारी हुदै थियो । बिहिबार केहि यात्रुलाई जलयात्रा गराएर नदि किनारको तारजाली बाक्साको ग्यावियन तारमा डोरीले बाँधेर उक्त जेटवोट राखिएको थियो । शुक्रबार विहानै बाढीले डोरी चुडाएर जेटवोट बगाएको थियो । जेटवोट बगेको स्थानीयले देखेका र केहिले भिडियो समेत सामाजिक सञ्जालमा साझा गरेका थिए ।