रामेछाप । तामाकोशी नदीमा आएको बाढीले मन्थली नगरपालिका ८ गाईखुरा स्थित नदीकिनारमा बाँधेर राखिएको जेटबोट बगाएको छ । शुक्रबार विहान नदीमा आएको बाढीले जेटबोड बगाएको हो ।

तामाकोशी मरिन एड्भेन्चर प्रालिले केहि महिना अघी मात्र उक्त जेटवोट जलयात्राका लागि प्रयोगमा ल्याएको थियो । मन्थली बाट गाईखुरा तर्फ जाने पुलको केहि मिटर माथि बाट तामाकोशीमा जलयात्रा गराउदै आएको उक्त प्रालिले जेटवोट त्यहि किनारामा बाँधेर राख्ने गरेको थियो ।

कम्पनीका संचालक सागरहरी अधिकारीका अनुसार बाढी बढ्न थालेपछि केहि दिन अघी देखि जेटवोट झिक्ने तयारी भइरहेको थियो । करिव ७० लाख लागतमा जेट ईन्जिन सहित नेपालमा एसेम्बल गरिएको उक्त जेटबोट अत्याधुनिक थियो ।

विहान तामाकोशी किनारको बाढीमा जेटबोट बग्दै गरेको स्थानीयले देखेका थिए । विहानै दखि खोजि कार्य पनि थालिएको छ । खाँडादेवि गाउँपालिकाको रजगाउँ सम्म जेटबोट बगेको जानकारी दिएपछि खोजि कार्य त्यहि केन्द्रीत गरिएको छ ।