रामेछाप । दोलखाको शैलुङ गाउँपालिकाले रामेछाप र दोलखाको सिमा क्षेत्रमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ जाने ग्रेटवाल प्रवेश गर्नेलाई साउन १ गते देखि शूल्क लिने भएको छ । गाउँसभाले शूल्क लिने गरि तयार गरेको विधयेक पारित गरेपछि उक्त निर्णय कार्यान्वयनका लागि गाउँपालिकाले सूचना जारी गरेको छ ।

गाउँपालिकाको कालापानी देखि शैलुङ क्षेत्र तर्फ उकालिने बाटोमा ग्रेटवाल निर्माण पश्चात पर्यटकहरु आउने क्रम हरेक बर्ष बढीरहेको छ । ग्रेटवालको प्रवेशका लागि वृद्धबृद्धा र विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

दोलखाको शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका तथा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका स्थायी बसोवास गर्ने नागरिकका लागि भने ग्रेटवालमा प्रवेश गर्दा कुनै पनि शूल्क लाग्ने छैन् । तर त्यसका लागि उनीहरुले स्थानी ठेगाना खुल्ने सरकारी कुनै कागजात भने देखाउनु पर्नेछ ।

दोलखा र रामेछापको सिमामा रहेको ३ हजार १ सय ४७ मिटर अग्लो उक्त पर्वतिय क्षेत्र हिउँदमा हिउँले छपक्क ढाकिन्छ भने बर्षायाममा हरियाली थुम्काहरुमा बदलिएको हुन्छ । नयाँ बर्ष र ल्लोहार जस्ता पर्वहरुमा शैलुङ आन्तरिक पर्यटकले खचाखच हुने गरेको छ । उक्त पर्वतमा जान रामेछाप र दोलखा दुवै जिल्ला तर्फबाट आधारशिविर सम्म सडक पुगेको छ भने केहि हिडाई पछि टाकुरामा पुगिन्छ । दोलखा तर्फ निर्माण भएको ग्रेटवालले पर्यटक आकर्षण गरिरहेको बेला रामेछाप तर्फ भने सामान्य सिँढी निर्माण भएको छ ।

शैलुङ पुग्नेले सिजन बमोमिजको मनोरञ्जन लिन पाउनेछन् । गुराँस, चिमाल र अनेक किसिमका बर्षे फुलले शैलुङमा आकर्षण थप्ने गरेका छन् । सय वटा मानिसले बनाएका जस्ता टाकुरा अनि त्यसमा चर्ने चौरी , भेडा र घोडाहरुको बथानले शैलुङलाई श्रृंगारेका छन् । टाकुरामा नेपाल सरकारले भ्यू टावर निर्माण गरेको छ भने बौद्ध धर्माबलम्बिहरुको अगुवाईमा छ्योर्तेन निर्माण भएको छ ।

पृथ्विको नाईटो, बुद्धको पाईला, विभिन्न धार्मिक गुफा अनि बाघ ढुंगा जस्ता कुराले शैलुंङ आकर्षणको केन्द्र बनिरहेको छ । त्यसमाथि पश्चिमको गणेश हिमाल देखि पूर्वको दुधकुण्ड हिमाल सम्मको दृष्याबलोकनले मानिसहरुलाई शैलुङले अझ मोहित बनाउने गरेको छ ।