रामेछाप । जिल्लाको पहिचान चिया संग जोड्ने अभियान सहित चिया उद्योगमा अग्रसर रामेछापको मन्थली नगरपालिका १४ भोटनाघीका (फुलासी) किसानलाई उक्त व्यवसायको प्रबद्र्धन गर्न पाईला पाईलामा कठिनाई छन् । बत्तिको थ्रिफेज लाईन छैन्, चियाका परिकारहरु बनाउने मेसिन औजार जुनाउन समस्या छन्, गाउँमा चिया मजदुर पाईदैन अनि वजारिकरण गर्न सघाउने निकाय छैन ।

चिया व्यवसायमा लागेका दिनेश खड्का भन्छन् – त्यस्ता विभिन्न खालका समस्याहरुका तगाराहरु पार लगाउने हो भने चियाले रामेछापको पहिचान मात्र बनाउदैन्, मनग्यै आर्जन पनि दिन्छ । ‘एकपाते सुईरोको चिया अहिले युरोपेली वजारमा माग छ, तर माग बमोजिमको परिमाण पु¥याउनै सकिएको छ्रैन् ’ खड्काले भने । कम्तिमा ६० केजिको भन्दा माथि भएपछि बल्ल त्यस्तो चिया युरोपको बजारमा लैजान ब्रोकरहरु तयार हुन्छन् । एकपाते चियाको एक केजिकै ८ हजार सम्म भाउ आउछ ।

चिया बगानमा मेसिन झारेपछि खड्काले खिम्ती ग्रामिण सहकारी संस्था संग थ्रिफेज लाईनको माग गरे । तर ५ बर्ष वित्यो, फुलासीको भोटनाघी तिर थ्रि फेज पुगेको छैन् । ‘थ्रिफेज नहुँदा कतिपय मेसिन चलाउनै पाइएन’ खड्काले भने – मागेको बेलामा हुन्छ त भन्छन् , तर बर्षौ वित्यो थ्रिफेजको लाईन टाँगेका छैनन् । फुलासीमा खिम्ती ग्रामिण विद्युत सहकारी संस्थाबाट विद्युत वितरण गरिएको छ ।

२०६९ साल देखि चिया लगाउन सुरु भएको भोटनाघीमा अहिले सम्म झण्डै ९ सय रोपनी चियाको पोथ्राले ओगटेको छ । धेरै समस्या हुदाँ हुदै पनि चिया लगाउने किसान हरेक बर्ष बढीरहेका छन् । गत बर्ष मात्र झण्डै १५ रोपनी क्षेत्रमा चिया विस्तार भएको छ, यो बर्ष पनि विरुवा रोप्न किसानहरु तयार छन् । समस्या बग्रेल्ति छन् तर एक दिन कमाई होला भनेर आशा गर्दै किसानहरु चियाका विरुवा माटोमा घुसारीरहेका छन् ।

भोटनाघीमा सुरुमा धनकुटाबाट चियाका १ लाख विरुवा ल्याएर खेति थालिएको थियो । उक्त विरुवा मध्ये झण्डै ४० प्रतिशत मरे । मरेका स्थानमा फेरी विरुवा थप्दै वगानलाई जस्ताको तस्तै पारिएको छ । पछिल्ला बर्षहरुमा फुलासीमै नर्सरी राखेर चियाका विरुवा बनाउने गरिएको छ । आन्तरिक रुपमा लगाउन र बाहिर कसैले माग गरे भने पठाउनका लागि अव फुलासीका चियाका अगुवा किसान सक्षम भएको खड्काले वताए ।

खड्काले आफ्नो ३० रोपनीमा चिया बगान हुर्काएका छन् । उनैले केहि बर्ष अघी देखि हरियो पत्तिलाई चिया बनाउनका लागि केहि मेसिन समेत जोडेका छन् । तर अत्यावश्यक केहि मेसिन अझै जुटेको छैन् । टि प्याक बनाउन अनि, पातलाई सानो डल्लो बनाएर तातोपानीमा आवश्यकता बमोजिम खान मिल्ने चिया बनाउनका लागि बेग्लै मेसिन चाहिन्छ । गत बर्ष बागमति प्रदेश सरकारले एउटा योजना दिएको पनि थियो , तर सूचना ढिला निस्कदा चिनबाट सामान आउन नभ्याउने भएपछि पैसानै फ्रिज भएको खड्काले वताए ।

भोटनाघी अहिले चिया बगानका कारण पर्यटकहरु पुग्न थालेका छन् । धेरै टाढाको ईलाम पुगेर चियाबगानको फोटो खिचेर रमाउनेहरु अहिले नजिकैको भोटनाघी रोज्न थालेका छन् । दशै, नयाँबर्ष र ल्होसार तिर बगानमा धेरै पर्यटक ओईरीने गरेको खड्काले वताए । अघिपछि पनि एकादुई पुगिरहेकै हुन्छन् । वगानमा पुग्नेहरु रमाउदै फोटो खिच्छन् र कसै कसैले चिया खरिद पनि गर्छन् ।

खड्काले अहिले दुईपाते सुईरोको चिया बनाइरहेका छन् । उक्त चिया सिटिसी हैन् । अर्थोडक्स हो । अर्थोडक्स चिया स्थानीय बजारमा बढीमा केजिको १ हजार २ सयमा विक्री हुन्छ । खड्का भन्छन् – बर्षको झण्डै ३ लाख कमाई त स्थानीय बजारमै बेचेर भइरहेको छ । उत्पादनको केहि भाग भने उनले चिया चखाउन, स्याम्पल बाड्न खर्चेका छन् । बनाएको पुरै चियाको पैसा लिननै पाएका छैनन् । अहिले चिनाउदै र चखाउदैमा उनको झण्डै ३० प्रतिशत चिया खर्च भइरहेको छ ।

भोटनाघीमा धेर थोर चिया लगाउने ५४ जना किसान छन् । ति सवैले सामुहिक रुपमा सहकारी मार्फत चियाको विस्तारका लागि केहि न केहि गरिरहेका छन् । समुन्द्र सतह देखि १ हजार ७ सय देखि २ हजार २ सय मिटर सम्म उचाईमा रहेको भोटनाघी उत्तरतिर फर्केको रसिलो डाडाँ हो । उक्त डाडाँमा अवको केहि बर्षमा अरु रुखबुट्टाहरु हैन्, चियाले ढाक्ने योजना स्थानीय किसानहरुले बनाएका छन् ।