रामेछाप । रामेछापको तामाकोशीमा पहिलो पटक आयोजना गरिएको राफ्टिङ प्रतियोगिताको उपाधि भोटेकोशी कायक क्लब ए ले जितेको छ । उक्त क्लबले छोटो र लामो दुरी दुवैमा उपाधिमा कव्जा जमाएको छ ।

रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा तामाकोशी मरिण एड्भेन्चरको जलदेवि टिम द्धितिय र तामाकोशी मरिण एड्भेन्चरकै त्रिबेणी टिम तृतिय भएका छन् । दुवैले छोटो र लामो दुरीको राफ्टिङमा दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा एउटा महिला टिम सहित १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिता रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ को बान्द्रे देखि मन्थली वडा नम्बर ६ को कुनौरी सम्म करिव ८ किलोमिटरको दुरीमा संचालन गरिएको छ । छोटो दुरीको प्रतियोगिता भने करमबोट देखि गाईखुरा सम्म संचालन गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमस ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार, शिल्ड, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । जिल्ला खेदकुद विकास समिति रामेछापका अध्यक्ष सीताराम कार्कीको अध्यक्षतामा भएको समापन कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा भाग लिएको एक मात्र महिलाहरुको समूह टिम चेली लाई प्रोत्साहन स्वरुप १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । राफ्टिङमा प्रतिस्पर्धा गर्ने महिलाहरु मन्थली ८ गाईखुराका ३ जना र सुनापति गाउँपालिकाकी एक जना रहेका थिए ।

जिल्लामा पहिलो पटक राफ्टिङ प्रयोगिता संचालन गर्नका लागि तामाकोशी मरिण एड्भेन्चर प्रालिले प्राविधिक सहयोग गरेको थियो । उक्त प्रालिका संचालक सागरहरी अधिकारीका अनुसार प्रतियोगिता पछि तामाकोशीमा नियमित राफ्टिङ संचालन गरी बाह्य पर्यटक समेत आकर्षित गर्ने लक्ष्य लिइएको छ ।