रामेछाप । कालोपत्र भएको सडक भत्किएर कतै खाडल र कतै धुलाम्मे बन्दा यात्रा जोखिमपूर्ण भएको समाचार ईअक्षता डटकम र अक्षता दैनिकमा प्रकाशित भएपछि रामेछापको मन्थली नगरपालिका १३ मा पर्ने देविटार देखि पोखरीडाडाँ जोड्ने सडकको मर्मत थालिएको छ ।

मन्थली नगरपालिकाले नगरपालिकाको मेसिन पठाएर उक्त सडकमा परेका खाल्डाखुल्डी पर्ने र नाला सफाई गर्ने काम गर्न थालेको हो । मन्थली १३ का वडा अध्यक्ष नबराज थापामगरले साविक फुलासी १ देखि मेसिनले मर्मत संभार थालेको वताएका छन् ।

फुलासीको देविटार देखि पोखरीडाडाँ सम्म पुग्ने उक्त सडकको चिण्डे सम्मको खण्डमा कालोपत्र जताततै विग्रीएको छ । नाला पुरिएका कारण बर्षायाममा सडकबाटै खोला वग्ने गरेकोले अधिकांश स्थानमा भलले सडक बगाएको छ । कताकतै मात्र कालोपत्रको चिनो रहेको केहि भागमा परेका खाडल छल्न दुई पाङ्गै्र सफारी चालकलाई हम्मे छ भने ठुला सवारी साधन पनि कष्टका साथ आउजाउ गर्ने गरेका छन् ।

मन्थली नगरपालिकाका सव–ईन्जिनियर होम खड्काका अनुसार बर्षा लाग्नु अगावै नाला सफाई र खाडल पुरेर यातायात संचालनमा सहजता ल्याउने गरी काम थालिएको छ । अव अहज यात्रा गर्न सकने गरी सडक मर्मत हुन्छ खड्काले भने ।

फुलासीको देविटार देखि पोखरी पुग्ने सडकको कालोपत्र मध्ये अधिकांश भाग मन्थली नगरपालिका आफैले गरेको हो । उक्त सडकको थोरै भागको कालोपत्र प्रदेश सरकारले समेत कालोपत्र गरेको थियो ।

बागमति प्रदेश सरकारले फुसाली देखि पोखरी डडुवा हुदै कोईलीबगर सम्म पुग्ने सडकलाई प्रदेश स्तरको सडकको रुपमा सूचिकरण गरेता पनि उक्त सडकको मर्मत सुधारका लागि प्रदेशस्तरिय पूर्वाधार विकास कार्यालयले कुनै काम नगरेको गुनासो सर्वसाधारणले गरेका छन् । पूर्वाधार कार्यालयले प्रदेशले लगानी गरेका जिल्लाका अन्य सडकहरुको मर्मत भने गर्ने गरेको छ ।