रामेछाप । ऐतिहासिक मकै पर्बका नायक सुब्बा कृष्णलाल अधिकारी देखि राजनीतिका नायक पद्मशंकर अधिकारीको गाउँले चिनिने रामेछापको कठजोरमा अव सहज सडक मार्गबाट आवागमन हुने भएको छ ।
सरकारले मन्थलीको भुत्याहाखोला देखि कठजोर सम्म पुग्ने सडकलाई कालोपत्र गर्ने योजना कार्यान्वयनमा ल्याएपछि कठजोर आउजाउमा अहिलेको भन्दा सहजता हुने भएको हो । हाल कठजोर सम्म कच्चि सडक थियो जुन बर्षायाममा यातायातका साधन संचालनका लागि सहज थिएन् ।
भुत्याहाखोला – कठजोर – धोवि सडकको नामले चिनिएको उक्त सडक अव सुब्बा कृष्णलाल मार्गको नामले परिचित बनाउने गरी मन्थली नगरपालिकाले नामाकरण गरेको छ । यद्यपी प्रदेश स्तरिय सडक भएकाले हाल सम्म पुरानै नाममा योजना कार्यान्यवनमा रहेका छन् । योजना सम्पन्न भएपछि भने नगरपालिकाको निर्णय बमोजिम सडकको नामाकरण कार्यान्वयनमा आउने जनाइएको छ ।

यसअघी मन्थली २ टेकनपुरमा पर्ने कैलाशडाडाँ सम्म पुगेको कालोपत्र सडक यस बर्ष पिप्ले सम्म पु¥याउने गरि धमाधम काम भइरहेको छ । बागमति प्रदेश सरकारको लगानीमा उक्त योजना कार्यान्वयनमा रहेको पूर्वाधार विकास कार्यालय रामेछापले जनाएको छ ।
उक्त कायालयका अनुसार भ्याट र पिएस सहित ९ करोड १ लाख ४८ हजारको लागतमा उक्त खण्डमा कालोपत्र हुन लागेको हो । उक्त कार्यका लागि कार्यालयले सम्बृद्धि – जट्टेश्वर – विरुपाक्ष जेभि संग संझौता गरेको छ । संझौता अनुसार सडक चौडा पार्ने, नाला तथा ग्यावियन निर्माण गर्ने र कंक्रिटको काम भइरहेको छ ।
झण्डै १० महिना अघी संझौता भएको उक्त सडक निर्माणका लागि २०८४ को मध्य भदौ सम्म सम्म म्याद रहेको छ । निर्माण व्यवसायी कृष्ण थापामगरका अनुसार बजारमा ईन्धनको भाउमा भएको मूल्यवृद्धिका विचमा समेत सडकको काम तिव्र रुपमा भइरहेको छ । थापामगरले उक्त सडकमा गर्नुपर्ने स्टकक्चरको काम लगभग पुरा भएको जनाएका छन् ।
बजारमा ईन्धनको भाउ अत्याधिक बढेको तर सरकारले बढेको भाउको मूल्य समायोजन नदिदा जिल्लाका दर्जनौ सडक योजनाहरुमा काम रोकिएको अवस्था छ । मन्थली – कठजोर सडकमा पनि अव मूख्य तथा ईन्धनको धेरै प्रयोग हुने काम बाँकी रहेकाले त्यसको प्रभाव पनि पर्ने थापामगरले वताए । ‘बेस र कालोपत्रका लागि धेरै ईन्धनको आवश्यकता रहने भएकाले अहिलेकै अवस्थामा काम गर्न कठिनाई छ’ थापामगरले भने ।
बागमति प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटमा पनि मन्थली कठजोर सडकका लागि प्रयाप्त बजेटको विनीयोजन गरेकोले अर्को बर्ष कठजोरको साविक गाविस रहेको स्थान सम्म कालोपत्र पुग्नेछ । यो बर्ष पिप्ले पुग्ने कालोपत्र कठजोर सम्म तन्काउनका लागि बजेट परिसकेको बागमति प्रदेशका सांसद तारानारायण श्रेष्ठले वताएका छन् ।
