रामेछाप । उत्तरपूर्वि रामेछापको दुगड समूहबाट प्रबद्र्धन भएको जलविद्युत आयोजनाले स्थानीयलाई गरेको दमनमा आन्दोलन भइरहेका बेला रामेछापको लिखु तामाकोशी गाउँपालिकामा रहेको लिखु ३ जलविद्युत आयोजनाका कर्मचारीले मंगलबार उदण्डता प्रदर्शन गर्दै जनप्रतिनिधि समेतलाई नियन्त्रणमा लिने, हप्कीदप्कि गर्ने र हातपातको प्रयास समेत गरेका छन् ।
स्थानीय सरकारले बिनीयोजन गरेको सडक स्तरोन्नतिको काम गर्दै गरेका उपभोक्ता समितिका पदाधिकारी र गाउँपालिकामा आगाामी बर्षको निती तथा कार्यक्रमका लागि डाकिएको सभामा जान लागेका वडा अध्यक्ष लगाएत जनप्रतिनिधिहरुलाई नियन्त्रणमा लिएर प्रहरी चौकी सम्म लगेर उनीहरुले दादागिरी देखाएका थिए । स्थानीय सरकारको योजनाको काम गर्दा आयोजनाको संरचना छोएको भन्दै उनीहरुले उक्त हर्कत गरेका हुन् ।

झण्डै ४ घण्टा जलविद्युतका कर्मचारीको कव्जामा परेका लिखु तामाकोशी गाउँपालिका २ का वडा अध्यक्ष सतोष पौडेलका अनुसार सिरीसे नजिकको सेतिखोलामा लिखु ३ जलविद्युत आयोजनाको पेनस्टक पाईप नजिकै सडक नालाको निर्माण गर्दागर्दै उनीहरुलाई नियन्त्रणमा लिएर सिरीसे प्रहरी चौकीमा लगेका थिए ।
हामीले हाम्रो योजनाको काम गर्दा उनीहरुको पेनस्टक पाईपमा असर परेको जस्ता हास्यास्पद कुरा गरेर थर्काउने, हातपात गर्ने जस्ता प्रयास भयो वडा अध्यक्ष संतोष पौडेलले भने – प्रहरी जलविद्यूत आयोजनाकै कर्मचारीको साथमा लाग्यो, आज धन्न बचेर आईयो । उनले विद्युत आयोजनाका प्रमुख सजन श्रेष्ठ र प्रशासन प्रमुख रुचि जोशी उपर कानुन बमोजिम कारवाहिको माग गर्दै स्थानीय प्रशासनमा मंगलबारनै उजुरी दिएका छन् ।
स्थानीय सरकारले पालिका भित्रका विकास निर्माण गर्नका लागि कानुन बमोजिमको काम गर्दा विद्युत आयोजना संचालन गर्दै आएको स्वेतगंगा हाईड्रोपावरका कर्मचारीबाट भएको निर्माण कार्य रोक्ने, जनप्रनिनिधिलाई विच बाटोमानै रोकिएको घटना प्रति लिखु तामाकोशी गाउँपालिकाले निन्दा गर्दै भत्र्सना गरेको छ । गाउँपालिकाका अध्यक्ष केशव महतले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै जलविद्युत आयोजनाले बागमति र कोशी प्रदेश जोड्ने, आयोजन निर्माण हुनु अगावै निर्माण भई संचालनमा रहेको धोवि सिरीसे ढाँडे सडकको आवागमन र उपयोगमा अवरोध पुर्याएको घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा स्थानीय सरकारको संवैधानिक अधिकारमा चुनौति श्रृजना गर्ने, सार्बजनिक विकास निर्माण कार्यमा अवरोध पु¥याउने, तथा जनप्रतिनिधि माथि अमर्यादित व्यवहार गर्ने सम्बन्धित आयोजनाका प्रमुख तथा जिम्मेवार कर्मचारीहरु माथि प्रचलित कानुन बमोजिम आवश्यक छानविन गरी कानुनी कारवाहि गर्न सम्बन्धित सवै सरोकारवाला निकाय संग माग गरिएको छ । साथै दोषि उपर आवश्यक कानुनी कारवाहि नगरेमा उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी हाईड्रोपावर कम्पनीलेनै लिनुपर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
ओखलढुंगा र रामेछापको सिमा भएर बग्ने लिखु नदीको पानी प्रयोग गरी लिखु ३ जलविद्युत आयोजनाले २९ मेघावाट विद्युत व्यवसायीक रुपमा उत्पादन गर्दै आएको छ । विद्युत निकाल्ने प्रयोजनका लागि पानी लगेपछि लिखु नदीमा वातावरणीय संकट निम्तिएको, सिंचाई कुलाहरु बन्द भएका, जलचरहरु नासिएका, मानिसको अन्त्यष्टि गर्दा चिता पखाल्न समेत कठिनाई हुने गरेको र वातारणमा गम्भिर असर परेको भन्दै स्थानीयले उक्त आयोजना प्रति केहि बर्ष देखि असन्तुष्टि जनाइरहेकै थिए । अहिले आयोजनाले उल्टै नागरिक र जनप्रनिनिधिहरुलाई हेपेर दमनकारी हैसियत प्रदर्शन गरेको भन्दै आन्दोलन चर्काउनु पर्नेमा स्थानीयले जोड दिएका छन् ।
