रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँ बराबरको बजेट र निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक भएको बजेट मध्ये करिव ७४ प्रतिशत चालु खर्च र २६ प्रतिशत पूँजिगत खर्च हुने अनुमान गरिएको छ ।
सोमबार प्रश्तुत बजेट अघील्लो अर्थात आर्थिक बर्ष २०८२।८३ को भन्दा १ करोड ४५ लाख ४९ हजारले कमि हो । आन्तरिक आय तर्फ अपेक्षा गरे बमोजिमको लक्ष्य हासिल नहुँदा बार्षिक बजेट अघील्लो आर्थिक बर्षको भन्दा घटन गरेको छ ।
सोमबार आयोजित १९ औं नगरसभाको बैठकमा नगर प्रमुख लब श्रेष्ठले निति तथा कार्यक्रम प्रश्तुत गरेका थिए भने उपप्रमुख ईश्वरी बस्नेतले अनुमानित आय व्ययको विवरण प्रस्तुत गरेकी थिईन् । नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख लब श्रेष्ठले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता , पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु तय गरिएको वताए । उक्त नगरसभामा गएको एसईई परिक्षामा सर्बोत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीहरुलाई सम्मान र पुरस्कृत गरिएको थियो ।
