रामेछाप । पिच सडक रे यस्तो ? देविटार देखि फुलासीको पोखरी तर्फ जाने सडकमा यात्रा गर्दा प्राय सवैको एउटै भोगाई छ, उफ † खाडलमा परिएला कि भनेर छल्दै उकालिनु र ओरालिनेले स्थानीय आजित छन् ।

सडक पिच भयो भनेर खुसी मान्ने हरु अहिले त्यहि सडकमा परेका खाडल कसैले माटोले पुरिदिएमा पनि आषिश दिने अवस्थामा पुगेका छन् । बालबालिका, वृद्धबृद्धाहरुलाई बोकेर दुई पाङ्ग्रे साधनमा हुईकिनेहरु सुरक्षित आउछन् या आउदैनन् भन्ने पिरलो परिवारलाई हुने गरेको छ ।

मन्थली नगरपालिका  १३ को देविटार देखि धेरै माथि सम्मको सडक खण्डमा अव पिचको कतै कतै चिनो मात्र बाँकी छ, । ‘पिच फाटेर धुलै सडक भएपनि सहज यात्रा गर्न पाउने अवस्था थियो ’ स्थानीय सुन्दर मगरले भने – यहाँ त कतिबेला खाडलमा परेर दुर्घटना हुने हो पत्तै छैन् । पिच हो पनि, पिच हैन् पनि । स्थानीय सरकार मन्थली नगरपालिकाले भने उक्त सडकलाई कालोपत्रे सडकको रुपमा लगत कसेको छ । तर स्थानीयले भने कालोपत्र सडक हेर्न अव पहिलेको फोटो निकाल्नु पर्छ ।

मगरले भनेको झै देविटार देखि झण्डै चिन्डे सम्मको सडकमा बढेमानका खाडलहरु बग्रल्ति छन् । ति खाडल माटैले भएपनि पुरेको भए यातायात सहज हुने थियो । तर कुनै निकायले पनि खाडल पुर्ने कुराको छेकछन्दो छैन् । बरु अरु खाडल बनाउने गरी गह्रौ भारी बोकेर बालबाहक गाडिहरु गुडिरहेका छन् । गाउँको माथि पर्ने फुलासी पोखरी नजिकको सडक ढलान गर्ने काममा सामान ओसार्ने टिपरले गाउँको तल्लो भागमा पर्ने सडक चिथोर्दे बडो कष्ट साथ उक्लिनु परेको छ ।

फुलासीको देविटार देखि पोखरी हुदै डडुवा कोईलीबगरको सडकलाई बागमति प्रदेश सरकारले प्रदेश स्तरको सडकमा सूचिकरण गरेको छ । तर प्रदेशको बजेटले जिल्लाका कयौं सडकहरु गएको हिउँदमा मर्मत गरिए पनि यसको पालो आएन । हिउँदमा पूर्वाधार विकास कार्यालय रामेछापले मेसिन लगाएर, पहिरो पन्छाउने, नाला सफाई गर्ने, झारबुटेन फाल्ने काम गरेको थियो , यसले धेरै सडक सहज बनेका थिए ।

मन्थली नगरपालिकाको लगानीमा फुसालीको देविटार देखि पोखरी सम्मको सडक कालोपत्र भएको हो । केहि बर्ष देखि उक्त सडकको काममा नगरपालिकाले लगानी गर्दै आएको छ । तर देविटार देखि पोखरी सम्म पिच गर्ने काम पुरा नहुदै अधिकांश सडक हेर्नै नहुने गरी क्षतिग्रस्त भइसकेको छ । उक्त सडकको थोरै खण्डमा प्राविधिक कार्यालयले समेत लगानी गरेको थियो । उक्त खण्डको कालोपत्र पनि कताकति मात्र बाँकी छ ।

फुलासी क्षेत्रमा धेरै पानी पर्छ । बर्षायाममा पहिरोले नाला पुरिदा भलबाढी सडकबाटै बग्दा निर्माण भएको सडक केहि अवधिमानै क्षति भएको स्थानीयको भनाई छ । नाला एउटै सद्धे छैनन्, ठुलो भल सडकै सडक कुदेको हुन्छ, त्यहि भएर पनि बढी खाडल बनाएको उनीहरुको भनाई छ ।

मन्थली नगरपालिकाले बर्षा पछि नगर क्षेत्रका सडक सुधारका लागि मेसिन औजार पठाएर सफाई गर्ने गरेको छ । खासगरी चाढपर्वमा घर आउनेले राम्रो सडकमा यात्रा गरुन भनेर दशैं ताका सडक सफाई गर्ने चलन छ । त्यसपछि फेरी मर्मतका लागि मेसिन पठाउने गरिदैन् । वडाले समेत साना तिना मर्मतका लागि लगानी गर्न नसक्दा त्यहि जोखिमयुक्त सडकमा यात्रा गर्न यात्रुहरु बाध्य छन् ।

मन्थली नगरपालिका सव–ईन्जिनियर होम खड्का कार्यालयमा भएको मेसिन औजार प्रयोग गरेर भएपनि चाडो भन्दा चाडो खाल्डाखुल्डी पुर्ने र नाला सफाई गर्नका लागि नगरपालिकामा छलफल गर्ने वताउछन् । हामीले समस्या देखेका छौं खड्काले भने – यस बारेमा चाडै छलफल गर्छौ, यात्रा सहज बनाउन सडक सुधार्छौ ।